काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनको मुख्य कारण र कारक पुराना राजनीतिक दलको हर्कत रहेको आरोप लगाएको छ ।
शुक्रबारबाट चितवनमा सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)द्वारा जारी राजनीतिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।
पुराना राजनीतिक दलहरुले गरेको दलीय सिन्डिकेट, राज्य दोहन र भ्रष्टाचार र कुशासन रहेको टिप्पणी गरेको छ । त्यस्तै वैकल्पिक राजनीतिक शक्तिका रुपमा आफूहरुले निरन्तर सचेत गराउँदै आउँदा समेत पुराना राजनीतिक दलहरुले सुन्न नचाहेको बताउँदै त्यसैको कारण स्वरुप जेनजी आन्दोलन हुन पुगेको रास्वपाको ठहर रहेको छ ।
‘जेनजी आन्दोलनको मुख्य कारक पुराना दलका हर्कत र जनविरोधी गतिविधि हुन् र आधार चाहिँ तिनैमार्फत सिर्जित दलीय सिण्डिकेट, राज्य दोहन र भ्रष्टाचार–कुशासन नै हो । हामीले पनि निरन्तर सचेत गराउँदै आएका थियौँ, संसदीय अंकगणितको बलमा शासकीय अहंकार, दम्भ र अर्कमण्यता बढ्दै गयो भने नागरिकमा चुँलिदै गएको आक्रोश विस्फोट हुनेछ । सभापति रवि लामिछानेज्यूले कांग्रेस–एमालेको सहकार्यमा सरकार बने लगत्तै त्यसलाई ‘अन्तिम भोज’को संज्ञा दिँदै यस्तो समीकरण पनि असफल हुँदाको नतिजा कल्पना गर्नुभएको छरु भनेर प्रश्न गर्नुभएको थियो,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ ।
भदौ २३ गतेको जेनजी आन्दोलनमा सरकारले चरम दमन गरेका कारण त्यसको प्रतिवाद स्कुले विद्यार्थी र जनस्तरबाटै प्रतिवाद हुँदा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घुँडा टेक्न बाध्य भएको रास्वपाको ठहर रहेको छ । २३ गते राज्यले गरेको हर्कतकै कारण २४ गतेको घटना घटन गएको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
‘सरकारको चरम दमन र विद्यालय पोशाकमा आएका विद्यार्थीलगायतको हत्यापछि जनस्तरबाटै प्रतिवाद हुँदा आन्दोलन निर्णायक र सफल भएको हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन बाध्य पारेको पनि २४ गतेको घटनाले नै हो । हामी अत्यन्तै प्रष्ट रुपमा भन्छौं– २३ गते राज्य शक्तिको दुरुपयोगमा जनहत्या भएकै कारण २४ गतेका घटना भएका हुन्। तर, दुबै दिनका घटनाको निष्पक्ष छानबिन गरी अपराध र संलग्नताको आधारमा दोषीलाई कारबाही गर्नुपर्छ,’ जारी राजनीतिक प्रतिवेदनमा भनिएको छ ।
त्यस्तै वर्तमान सुशीला कार्की नेतृत्वको सरकार जेनजीको भावना अनुसार भएको र त्यसले निर्वाचन गर्ने जिम्मेवारी पाएको भन्दै सोही अनुसार सरकार अघि बढ्नुपर्ने रास्वपाको सुझाव रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया