काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यसमितिको विस्तारित बैठक सुरु भएको छ । आजबाट सुरु भएको विस्तारित बैठकमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
अर्यालद्वारा पेस गरिएको प्रतिवेदनमा देशको राजनीतिको दिशा र दशा बदल्न जुन जुन विषयलाई एजेण्डा बनाइएको थियो त्यही नै अहिले राजनीतिको मुख्य एजेण्डा बनेको दाबी गरिएको छ । त्यस्तै गत निर्वाचनमा आफूहरु चौथो राजनीतिक शक्ति बनेको तर अन्य पूराना राजनीतिक शक्तिहरुले त्यसलाई स्वीकार गर्न नसकेको समेत दाबी गरेका छन् ।
‘लोकप्रियताका लागि होइन, राजनीतिको दिशा र दशा बदल्न हामीले जुन–जुन एजेण्डा–मुद्दाको पैरवी गरेका थियौं, आज तिनै राष्ट्रिय राजनीतिका मुख्य एजेण्डा बनेका छन्। स्थिर शासनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी, सुधारिएको निर्वाचन प्रणाली, प्रदेश तहको पुनर्संरचना, भ्रष्टाचारविरुद्ध निर्मम कारबाही, आज सबैको साझा एजेण्डा बनेका छन्। यसले हाम्रो स्थापना, उपस्थिति र हस्तक्षेपलाई पुष्टि गरेको छ। वैचारिक, सांगठनिक र संसदीय उपस्थिति मात्र होइन जनस्तरको सद्भाव, आकर्षण र सहभागिता बढ्दै गए पनि केही राजनीतिक दललाई हाम्रो उपस्थिति स्वीकार्न कठिन भएको यथार्थ तिनका राजनीतिक प्रतिवेदन हेर्दा थाहा हुन्छ। देशको चौथो राजनीतिक दलको अस्तित्व स्वीकार गर्न नसक्ने प्रवृत्ति राजनीतिक चरित्र होइन। त्यो हामीप्रतिको ईर्ष्या र त्रासको परिणाम हो,’ जारी प्रतिवेदनमा भनिएको छ ।
रास्वपाको विस्तारित बैठक शुक्रबार र शनिबार (कार्तिक २१ र २२ गते) चितवनमा बस्नेछ । बैठकमा अर्यालले पेस गरेको राजनीतिक प्रस्तावमाथि छलफल हुनेछ ।
यस्तो छ पूर्णपाठ :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया