काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी’का सहसंयोजक माधवकुमार नेपालले पार्टी निर्णय नमानेको भन्दै तत्कालीन नेकपा एकीकृत समाजवादीका ६ नेतामाथि गरेको कारबाहीको विषयलाई लिएर यतिबेला विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
माओवादी, एकीकृत समाजवादीसहित १० वाम घटकबीच पार्टी एकता भएर यही कात्तिक १९ गते नेपाली कम्युनिस्ट पार्टी बनेकोमा समाजवादीका घनश्याम भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्णकुमार श्रेष्ठ (किसान) लगायत सहभागी भएका थिएनन् । एकता प्रक्रियामा सहभागी नभएको भन्दै सो पार्टीका तत्कालीन अध्यक्ष नेपालले पार्टी सदस्यसमेत नरहनेगरी उनीहरूलाई कारबाही गरेका थिए ।
उनीहरूमाथिको कारबाही १० वाम दलबीचको एकता घोषणापछि गरिएको भन्दै नेता नेपालको अहिले चर्को आलोचना भइरहेको छ ।
नेत्री रामकुमारी झाँक्रीले त तत्कालीन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक नेपालप्रति तिखो कटाक्षसमेत गर्न भ्याएकी छन् । एमाले प्रवेशका लागि खुट्टा उचालेर बसेकी उनले शुक्रबार (कात्तिक २१) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत कटाक्ष गरेकी हुन् । उनले लेखेकी छिन्, ‘प्रिय कमरेड माधव, अभिवादन ! आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको ? लोकले के भन्ला भन्ने पनि लागेन र ?’
उनले नेता नेपाल सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख भएका पनि उल्लेख गरेकी छन् । आफूहरूलाई गरिएको कारबाहीप्रति व्यंग्यात्मक रूपमा उनले ‘हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि’ भनेकी छन् ।
उनले नेता नेपाल जहाँ भए पनि आफूले सधैँ अभिभावकका रूपमा सम्झने जनाएकी छन् । ‘बाँकी जीवनको सुखद होस्, परिवारमा शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना,’ झाँक्रीले लेखेकी छन्, ‘तपाईं जहाँ रहे पनि हाम्रो अभिभावको हो । मैले यसरी सधैँ सम्झनेछु ।’
उनीहरूमाथि गरिएको कारबाहीलाई लिएर सो पार्टीका नेता प्रकाश ज्वालाले त्यस बारेमा प्रष्टीकरण दिएका छन् । उनले १० वाम दलबीच एकता हुनुअघि नै एकता प्रक्रियामा सहभागी नहुने नेताहरूमाथि कारबाहीको निर्णय गरिएको दाबी गरेका छन् । कारबाहीको निर्णय सार्वजनिक गर्न ढिलाइ भएको हुन सक्ने भन्दै उनले पार्टी एकतापछि कारबाही गरिएको भनेर गरिएको प्रचार गलत भएको बताए ।
‘कात्तिक १९ गते बिहान ९ बजे बसेको हाम्रो सचिवालय बैठकले नै एकता प्रक्रियामा सहभागी नहुने नेताहरूमाथि कारबाहीको निर्णय गरेको हो,’ त्यस विषयमा प्रष्टीकरण दिँदै उनले भने, ‘कार्यालयले पत्र सार्वजनिक गर्न ढिलो गरेको हुन सक्छ । तर, कारबाहीको निर्णय १९ गते बिहानै भएको हो । पार्टी एकता त दिउँसो भएको हो नि ।’
उनले पार्टी एकतापछि पनि एकीकृत समाजवादी पार्टीले नेताहरूलाई कारबाही गर्यो भनेर गरिएको प्रचार गलत भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया