जेनजीको मुख्य मागलाई नै सरकारले बेवास्ता गर्‍यो : बाबुराम भट्टराई

लोकपथ
112
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले जेनजी आन्दोलनका प्रमुख मागलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित जेनजी अगुवाहरूसँगको अन्तरसंवाद कार्यक्रममा उनले सरकारले आन्दोलनको मूल मर्म भ्रष्टाचारविरुद्धको कारबाहीलाई नै उपेक्षा गरेको बताएका हुन्  ।

भट्टराईले भने, ‘भ्रष्टाचारीलाई कारबाही गर्ने भन्ने मुख्य माग हो नि तपाईँहरूको, खै त्यो अहिले सुरुवात भएको ? अहिले गर्न नसकिएला, सुरुवात त गर्न सकिन्छ ।’ उनले ठुला भ्रष्टाचारी र ठुला भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन सुरु गर्न सरकारले ढिलो गरेको भन्दै त्यसमा दबाब बढाउन आग्रह गरे ।

उनका अनुसार भदौ २३ को आन्दोलनका क्रममा भएका गोली प्रहार घटनाको छानबिनका लागि समिति बने पनि दोषीलाई कारबाही गर्न ढिलाइ हुँदा प्रमाण नष्ट हुने र दोषी उम्किने सम्भावना बढेको छ ।

भट्टराईले सरकारले निर्वाचनसमेत शीघ्र घोषणा गर्नुपर्नेमा जोड दिए ।  उनले भने, ‘निर्वाचन गर्न ढिलाइ भए संविधान नै असफल हुने खतरा छ ।’ 

दुर्गा प्रसाईँको आन्दोलनलाई लक्षित गर्दै उनले संविधानलाई असफल बनाउन खोज्ने तत्त्वहरू सक्रिय रहेको टिप्पणी गर्दै त्यस्ता प्रयासविरुद्ध सचेत रहन आग्रह गरे ।

भट्टराईले आगामी निर्वाचनका लागि दुई महत्त्वपूर्ण काम तत्काल गर्नुपर्ने बताए । पहिलो, विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था मिलाउनुपर्ने र दोस्रो, मतदान तथा उम्मेदवार बन्न पाउने उमेर घटाउनुपर्ने  उनको भनाइ छ ।

उनले भने, ‘नेपालमा नागरिकता लिन १६ वर्ष पुगेपछि पाइन्छ भने भोट हाल्ने उमेर पनि १६ वर्ष राख्न सकिन्छ। स्थानीय तहमा उम्मेदवारको उमेर १८ र माथिल्लो तहमा २१ वर्ष कायम गर्दा हुन्छ ।’

भट्टराईले जेनजी आन्दोलनका अगुवाहरूलाई एकजुट भई सरकारसँग ठोस माग राख्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?