काठमाडौं । पूर्वमन्त्री सुमन श्रेष्ठले नेपालको राजनीतिक अवस्थाले अब एकल होइन, सामूहिक नेतृत्वको आवश्यकता रहेको बताएकी छन् ।
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राजनीतिक निकासबिना कुनै पनि आन्दोलन दिगो बन्न नसक्ने भन्दै, पटक पटक अवसर पाएर देशलाई निराशा मात्र दिने पुराना दलहरूबाट सुधारको अपेक्षा गर्नु ‘मूर्खता’ भएको टिप्पणी गरेकी छन् ।
उनले भनिन्, ‘पटक पटक नेतृत्वमा पुगेर देशलाई निराशा बाहेक केही दिन नसकेकाहरू अहिले चुनावी समीकरण मिलाउनका लागि एकजुट हुँदै छन् ।’
उनका अनुसार परिवर्तनको नारासहित अघि बढेका नयाँ शक्तिहरू पनि नेतृत्व विवादमा फसेका कारण प्रभावकारी हुन सकेका छैनन् । यस्तो परिस्थितिमा उनले हरेक रूपले परिवर्तन चाहने व्यक्तिहरूलाई समेट्न सक्ने सामूहिक नेतृत्व आवश्यक भएको धारणा व्यक्त गरेकी छन् ।
श्रेष्ठले एकल नेताको अवधारणाबाट बाहिर निस्कँदै पार्टीलाई दिशा दिन एक नेता होइन, एउटा ‘काउन्सिल अफ लिडर्स’ बनाउने बेला आएको सुझाव दिएकी छन् ।
उनले कुनै नायकको अनुहारभन्दा विचार र कर्ममा स्पष्टता ल्याउँदै जनताको वास्तविक मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् ।
आर्थिक दृष्टिले पनि उनले मध्यमार्गी बाटो समातेको, बजारलाई सन्तुलित नियमनमा राख्दै समृद्धि ल्याउने सरकारको आवश्यकता रहेको बताइन् ।
श्रेष्ठले जनताको मुद्दा बोकेर वैकल्पिक राजनीतिलाई मूलधारमा ल्याउने अभियानमा सबैलाई एकजुट हुन आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया