काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले जेनजी पुस्तासहितका युवाहरूलाई समेट्दै नौ वटा कम्युनिष्ट पार्टीबिचको एकीकरण अभियानलाई अघि बढाएको बताएका छन् ।
मंगलबार काठमाडौंमा बसेको पार्टी राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका मुद्दालाई आत्मसात गर्दै नयाँ पुस्तालाई समेत पार्टी पुनर्निर्माणको प्रक्रियामा सहभागी गराउन आफूहरू लागिपरेको बताए ।
श्रेष्ठका अनुसार नेकपा (एकीकृत समाजवादी) सहित नौ कम्युनिष्ट दलबिचको एकीकरण नेपाली कम्युनिष्ट आन्दोलनको कोशेढुंगा साबित हुनेछ।
उनले भने, ‘नौ वटा पार्टीहरूले हस्ताक्षर गरिसकेका छन् । हामी नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ शीराबाट एकीकरण र पुनर्गठनका लागि अगाडि बढ्ने निर्णय गरिसकेका छौँ ।’ श्रेष्ठले तीन विषयलाई पार्टी एकीकरणको मूल केन्द्रबिन्दु बनाइएको बताए ।
पहिलो, वैचारिक रूपान्तरण र पुनर्गठनमार्फत नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशातर्फ लैजानुस् ।
दोस्रो, विचार, सिद्धान्त, राजनीति र संस्थागत सामूहिकतामार्फत रणनीतिक लक्ष्य हासिल गर्नुस् ।
र तेस्रो, जेनजी आन्दोलनका चेतना र मुद्दाहरू आत्मसात गर्दै युवा पुस्तालाई पार्टी पुनर्निर्माणको अग्रपंक्तिमा ल्याउनु ।
उनले भने, ‘समाजवाद, सुशासन र समृद्धिको पक्षमा आउने सबै कम्युनिष्ट र वामपन्थी शक्तिहरूलाई एउटै केन्द्रमा ल्याउने हाम्रो उद्देश्य हो। नेपाली कम्युनिष्ट आन्दोलनको रूपान्तरणको यही प्रक्रिया हाम्रो प्रस्थान विन्दु हो ।’
श्रेष्ठले नेपालको समृद्धिका लागि सबै कम्युनिष्ट शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको पनि जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया