काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित वा विशेष महाधिवेशनको बहस चलिरहेको सन्दर्भमा महाधिवेशनका हस्ताक्षरकर्ता हरूले नेता डा.शेखर कोइरालासँग छलफल गरेका छन् ।
आज सोमबार बिहान कोइरालालाई बालुवाटार विशालनगरमा रहेको उनको सम्पर्क कार्यालयमै पुगेर विशेष महाधिवेशन पक्षधरले छलफल गरेका हुन् ।
डा. कोइरालासँग छलफलका लागि विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको अगुवाइ गरिरहेका नेता गुरुराज घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसे, डिल्लीराम सुवेदीलगायत एक दर्जन नेता/कार्यकर्ता गएका थिए । उनीहरूले मुलुकको परिस्थिति र विधानले परिकल्पना गरेको विशेष महाधिवेशन हुन सक्ने अवस्थाबारे कोइरालालाई स्मरण गराएका थिए ।
भेटमा विशेष अधिवेशनका पक्षधरहरूले हस्ताक्षर दर्ता गराएको विषयमा चालु केन्द्रीय समिति बैठकमा कसरी अगाडि बढेको छ भन्ने विषयमा उनीहरूले चासो राखेका थिए । साथै नेता कोइरालालाई विशेष महाधिवेशनको पक्षमा लबिङ गरिदिन पनि उनीहरूले आग्रह गरेका थिए ।
विशेष महाधिवेशन पक्षका प्रतिनिधि मनोजमणि आचार्यले कोइरालासँग आफूहरूले राखेको विषय उठाउँदै भने, ‘नियमित महाधिवेशन हुन सक्दैन । धेरै समस्या छ । विशेष महाधिवेशनले नै कांग्रेसभित्र अहिले देखिएको समस्याको समाधान गर्छ भन्ने कुरा राख्यौँ र विशेष महाधिवेशनको पक्षमा लबिङ गरिदिनुस् भन्यौँ ।’
जवाफमा नेता कोइरालाले नियमित महाधिवेशनमा पनि सहमति नभएका कारण अन्तिममा विशेष महाधिवेशनमा पुग्न सक्ने भनेको आचार्यले बताए ।
आज बिहानको सो छलफलमा डा. कोइरालाले ४ वर्षे समयसीमाभित्र १५औँ महाधिवेशन वा यसको विकल्पमा केन्द्रीय समितिको आह्वानमा विशेष महाधिवेशन, महाधिवेशनका लागि अविलम्ब एउटै कार्यतालिका र विशेष महाधिवेशनबाट समयसापेक्ष नीति तर्जुमासहित केन्द्रीय समितिको निर्वाचन अहिलेको एकमात्र बाटो रहेको बताएका थिए ।
उनले पार्टी नेतृत्वले बडो सुझबुझ र परिपक्वताका साथ उपयुक्त निर्णय गरेर सम्पूर्ण नेपाली र पार्टीका साथीहरूलाई आश्वस्त बनाउने सामर्थ्य र कुशलता प्रदर्शन गर्न सक्नुपर्नेमा पनि जोड दिए । नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि वर्तमानसम्म पार्टी र देशमा उत्पन्न हुने गरेका हरेक राजनीतिक उतारचढाव, वादविवाद, द्वन्द्व र विग्रहमा पनि विचलित नभई मुलुकलाई निकास दिएको पनि डा. कोइरालाको भनाइ थियो ।
१४औँ महाधिवेशनमा रहेका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जनाले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए ।
झन्डै ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाएपछि गत शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि विशेष महाधिवेशन पक्षधरसँग छलफल गरेका थिए । त्यतिबेला ७ जना प्रतिनिधिहरूले कार्यवाहक सभापति खड्कासँग कुरा गरेका थिए ।
महाधिवेशनकै विषयमा विवाद हुँदा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन । आइतबार बस्ने भनेर शुक्रबार स्थगित गरिएको बैठक आइतबार पनि बस्न सकेन । मंगलबार बस्नेगरी कांग्रेस केन्द्रीय समिति बैठक सारिएको छ ।
सहमति खोज्नका लागि आज सोमबार पनि शीर्ष नेताहरूको बैठक धोबिघाटमा बस्दै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया