राजनीतिमा हर्कको फरकपना : चुनाव चिह्न माटोको ढिस्को, कार्यकर्ता होइन श्रमदाता बनाउने

लोकपथ
378
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाकाका प्रमुख (मेयर) हर्क साम्पाङको गफले मात्रै रोजगारी सिर्जना नहुने बताएका छन् ।

आइतबार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै उनले यस्तो बताए । उनले रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताए ।

श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रुपान्तरण र आर्थिक रुपान्तरणको लागि फिल्डमा खटेर काम गर्ने उनको भनाई छ । उनले उत्पादन बढाउन नसक्दा प्रायः नेपाली बेरोजगार हुनुपरेको बताए । उनले देश आफैँले बनाउने मौलिक शैली अपनाउने उल्लेख गरे । देश विदेशी ऋणले मात्रै नचल्ने बताउँदै उनले देश अब नेपाली आँफैले बनाउनुपर्नेमा जोड दिए । उनले गरिबी, अभाव र यसकै कारणले हुने विभिन्न खालका ठगी, भ्रष्टाचार, बेइमानीलाई अन्त्य गर्ने बताए ।

उनले भने, ‘जुन काम आजसम्म भएन, यत्तिका वर्षसम्म । त्यो काम गर्ने हो । उत्पादन, निर्माण, सामाजिक रपन्तरणका लागि, आर्थिक रुपान्तरणको लागी हामी अब फिल्डमा निस्केर काम गर्छौं । अफिसका बसेर भाषणमा सिमित हुँदैनौँ । हामी चाँही पक्का फिल्डका काम गर्ने एउटा संगठन निर्माण गर्दैछौँ । पहिला त यो देशमा काम गर्नुपर्छ । उत्पादन बढाउनुपर्छ । हामी सबै बेरोजगार छौँ प्रायः । रोजगारीको सिर्जना गफले हुँदैन । विदेशी ऋणले नी चल्दैन यो देश । त्यसले गर्दाखेरि यो देश अब हामी आँफैले बनाउनुपर्छ भन्ने हाम्रो मौलिक शैली छ । ती शैलीलाई हामीले विर्सियौँ । त्यो मौलिक शैलीहरुलाई पनि हामीले फेरि उजागर गर्छौ ।’

उनले आफूहरुले दलको झण्डा नराख्ने बताए ।

दलको चुनाव चिन्ह भने माटोको ढिस्को राखिएको छ । लोकतन्त्रमा विश्वास राख्ने भएकोले आवधिक निर्वाचनमा पार्टीले भाग लिने उनको भनाई छ । निर्वाचनको लागि तयारी पनि भइरहेको उनले जानकारी दिए ।

उनले परम्परागत राजनीतिक दलजस्तो आफ्नो पार्टी नहुने पनि दाबी गरे । हरेक टोलमा पार्टीले काम गर्ने श्रमदाता बनाउने उनले जानकारी दिए । निर्वाचन आयोगले साम्पाङको पार्टीलाई आईतवार मान्यता दिएको हो । साम्पाङले आइतबार आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?