शनिबार बहिस्कार गरेका जनार्दन आज सचिवालय बैठकमै गएनन्

लोकपथ
301
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सचिवालय बैठक बहिस्कार गरेका छन् ।

जनार्दनले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठक बहिस्कार गरेका हुन् ।

माओवादी केन्द्रको सचिवालय बैठक आइतबारदेखि पेरिसडाँडामा जारी रहेको छ । शनिबारको बैठक बहिस्कार गरेर हिँडेका जनार्दन आजको बैठकमा सहभागी नै नभएका हुन् ।

माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जनार्दन बैठकमा सहभागी नभएको बताए ।

‘हिजो आफ्नो कुरा राखेर निस्कनुभएको थियो। आज बैठकमा आउनुभएन,’ उनले भने ।

शनिबारको बैठक शर्माले एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने विपक्षमा आफ्नो कुरा राखेर निस्किएका थिए ।

पार्टी बैठकपछि बोल्दै महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनार्दनले अराजक गतिविधि गरेको भन्दै आपत्ति जनाएका थिए ।

उता माओवादीसँग एकता गर्ने निर्णय गरेको एकीकृत समाजवादीले सचिवालय बैठकले त्यसबारे थप निर्णय लिने भनेको छ । यता माओवादी केन्द्रले पनि आजको बैठकमा एकीकृत समाजवादीसँग संगठनात्मक संरचनाबारे छलफल गर्नेछ ।

पार्टी एकता हुने भएसँगै दुवै पार्टीमा असन्तुष्टिहरु पैदा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?