काठमाडौं । नेकपा (एमाले) का नेता भीमबहादुर रावलले वर्तमान सरकारको वैधतामाथि प्रश्न उठाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले संविधानको प्रावधान उद्धृत गर्दै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले संविधानको सीमाभित्र रहेर काम गर्न नसकेको आरोप लगाए ।
उनका अनुसार नेपालको संविधानले सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने व्यवस्था नगरेकाले वर्तमान अन्तरिम सरकारको आधिकारिता र वैधतामाथि प्रश्न उठ्नु स्वाभाविक रहेको छ ।
नेता रावलले भने, ‘यदि यो संविधानलाई जस्ताको तस्तै मान्ने हो भने प्रधानमन्त्रीको आधिकारिता र वैधतामाथि प्रश्न उठ्छ । विद्रोहले मात्रै संविधान विपरीत प्रधानमन्त्री हुन सकिन्छ । संविधानको घेराभित्र रहेर अघि बढ्ने हो भने पूर्वप्रधानन्यायाधीशलाई राजनीतिक नियुक्ति मानव अधिकार आयोग बाहेक कहीँ पनि जाने अधिकार छैन ।’
उनले राष्ट्रपतिले यस्तो अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार पनि नहुने तर्क गरे ।
रावलले हालको सरकारले निर्वाचन गराए पनि त्यसको वैधता विवादास्पद हुने जिकिर गर्दै भने, ‘यदि हामी संविधानको घेराभित्र नै छौँ भने यो सरकारबाट हुने चुनाव संविधानसम्मत हुने छैन ।’
उनले मुलुकमा वास्तविक परिवर्तन ल्याउन संविधानका कतिपय प्रावधानहरू संशोधन गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
रावलले राजनीतिक स्थायित्व र प्रणालीगत सुधारका लागि सबै दलहरूले संविधान संशोधनमा सहमति जुटाउनुपर्नेमा पनि जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया