काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन देशभक्त शक्तिहरूबिच एकता अपरिहार्य रहेको बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सहिद प्रतिष्ठान नेपालको साधारण सभामा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि निरन्तर प्रयास भइरहेको बताए ।
उनले भने, ‘सरकारमा हुँदा पनि र बाहिर हुँदा पनि हामीले शान्ति प्रक्रियाका विषयमा राज्यलाई निरन्तर सचेत गराउँदै आएका छौं । यो जिम्मेवारी अझै अधुरो छ, यसलाई पूरा गर्न सबै पक्ष गम्भीर हुनुपर्छ ।
प्रचण्डले सहिद परिवार र बेपत्ता भएका योद्धाका आफन्तहरूको भावना प्रति सम्मान प्रकट गर्दै चाँडोभन्दा चाँडो शान्ति प्रक्रियासम्बन्धी सबै काम सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
उनले वर्तमान अवस्थालाई राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथिको गम्भीर चुनौतीको रूपमा चित्रण गर्दै यस्तो अवस्थामा देशभक्त र लोकतान्त्रिक शक्तिहरूबिच सशक्त एकता आवश्यक रहेको उल्लेख गरे ।
संयोजक प्रचण्डका अनुसार, शान्ति प्रक्रियाको सफल समापनले मात्रै सहिदहरूको बलिदानको सम्मान र स्थायी शान्तिको सुनिश्चितता गर्न सक्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया