चार सय मेगावाट क्षमताको कालिगण्डकी कोभाङ परियोजना बन्ने

लोकपथ
462
Shares

काठमाडौं । नेपाल डेभलपमेण्ट पब्लिक कम्पनी (एनडीपी) ले चार सय मेगावाट क्षमताको कालिगण्डकी कोभाङ जलविद्युत परियोजना निर्माण गर्ने भएको छ ।

कम्पनीको शुक्रबार सम्पन्न साधारणसभामा अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त जानकारी दिएका हुन् ।

ढकालका अनुसार, एनडीपीसहितको समूहले उक्त परियोजना निर्माणका लागि आवश्यक सम्झौता सम्पन्न गरिसकेको छ । उनले भने, ‘कालिगण्डकी कोभाङ परियोजना पहिले अदालतले खारेज गरेको थियो, तर सर्वोच्च अदालतको फैसला अनुसार लाइसेन्स पुनः बहाल भएपछि हामीले यसलाई अगाडि बढाउने निर्णय गरेका छौँ । परियोजना करिब चार सय मेगावाट क्षमताको हुनेछ। क्यू४० अनुसार १६३ मेगावाट र क्यू २५ अनुसार करिब ४०० मेगावाट उत्पादन सम्भावना छ ।’

उनले थपे ,‘ परियोजनाको लागि विद्युत् प्रसारण लाइन पूर्वै निर्माण भइसकेको छ र भारतको सिमासम्म पुगिसकेको छ। यस परियोजनामा लेतेबाट टनेलमार्फत पानी पठाइने र हाईवेमै कालिगण्डकी पावर हाउस निर्माण गरिनेछ ।’ 

साथै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले एनडीपीले स्टार्टअप, जलविद्युत आयोजना निर्माण लगायतका क्षेत्रमा लगानी गर्ने योजना रहेको जानकारी पनि दिएका छन् ।

यो परियोजना नेपालमा ऊर्जा उत्पादन वृद्धि र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?