बक्यौता असुली अहंकार होइन, कानूनको पालना हो : मन्त्री घिसिङ

लोकपथ
112
Shares

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनका बक्यौता असुलीको विषयमा अहिले पनि आफूमाथि विभिन्न किसिमका दबाब सिर्जना गर्ने प्रयास भइरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले महसुल उठाउने काममा आफू दृढ र निष्ठाका साथ उभिएको स्पष्ट पारेका छन् । 

घिसिङका अनुसार केही बक्यौता नतिर्ने ग्राहकहरूको समर्थनमा सञ्चारमाध्यम, सामाजिक सञ्जाल र श्रमिकमार्फत भावनात्मक दबाब सिर्जना गर्न खोजिएको छ ।

‘म यस्ता गतिविधिप्रति सचेत र सतर्क छु,‘उनले लेखेका छन् । उनले कसैलाई अन्याय भएको महसुस भए न्यायिक निकायमार्फत आफ्नो हक खोज्न उद्योगीहरूलाई सुझाव दिएका छन् ।

मन्त्री घिसिङले बक्यौता असुली व्यक्तिगत अहंकारको विषय नभई कानुनको पालना, संस्थाको प्रतिष्ठा र देशको शुद्धताका लागि गरिएको इमानदार प्रयास भएको बताएका छन् ।

उनका अनुसार विगतमा पनि चार पटकसम्म बक्यौता असुलीको प्रयास गर्दा राजनीतिक तहबाट अवरोध र हस्तक्षेप भएको थियो । उनले भनेका छन्, ‘२०८१ साल चैत ११ गते मैले कार्यकारी निर्देशकको हैसियतमा विनियमावलीअनुसार बक्यौता उठाउन विद्युत् नियमन आयोगमा पत्राचार गरेको थिएँ । त्यसै दिन मलाई पदबाट हटाइयो ।

उनले बक्यौता असुली गर्ने आफ्नो इमानदार प्रयास नै पद गुमाउने कारण बनेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?