काठमाडौं । सरकारले रिक्त रहेका देशमा तत्काल राजदूत नपठाउने भएको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अन्तरिम सरकारले तत्काल राजदूत नियुक्त नगर्ने बताए ।
‘रिक्त रहेका देशमा राजदूत नियुक्त तत्काल हुँदैन, राजदूतावास रहेका दोस्रो तहका कर्मचारीबाट चलाउन सकिन्छ, सरकार आर्थिक रुपमा मितव्ययी ढङ्गले चल्छ,’ मन्त्री खरेलले भने ।
साथै सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गर्दै स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वल्ड समिट फर सोसियल डेभलपमेन्ट’ विषयक कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा यही कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । साथै आगामी मङ्सिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३औँ इन्टरपोल महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै आगामी मङ्सिर ६ देखि १३ गतेसम्म पेरुको लिमामा आयोजना हुने इन्टरनेसनल ट्रिएटी अन प्लान्ट जिनिटी रिसोर्स फर फुट एन्ड एग्रिकल्चर को गभर्निङ बडीको एघारौँ अधिवेशनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मालाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको छ ।
बैठकले देहायका क्षेत्र–प्रणालीहरुलाई प्रचलित कानुनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको यकिन गरी विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच उपलब्ध गराउन सक्ने गरी क्षेत्र तोक्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया