काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन कष्टकर बनेको छ । बिहीबार बिहानैदेखि अविरल वर्षाका कारण उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको हो ।
काठमाडौं उपत्यकामा बुधवार रातिदेखि नै अविरल वर्षा जारी छ । जसकारण आम नागरिकका दैनिक कामहरु प्रभावित भएका हुन् । कार्यालय जानका लागि र दैनिक कामहरु गर्नका लागि वर्षाका कारण समस्या सिर्जना भएको छ । आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा अधिकांश बदली रही तराई भू-भागमा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा पूर्ण बदली रही तराई भू–भागमा अधिकांश बदली रहने छ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका अधिकांश स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानरूमा तथा बाँकी भू-भागका केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा भारी हिमपातको साथै कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । हाल देशमा बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव रहेको छ । साथै पश्चिमी वायूको र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया