अनलाइन टिभीकर्मीसँग सञ्चारमन्त्री खरेलले भने– ‘सामाजिक सञ्जाल कहिल्यै बन्द हुँदैन’

लोकपथ
161
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउनु आवश्यक भएको बताएका छन् । 

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा अनलाइन टिभीकर्मीहरूसँगको छलफलमा उनले सामाजिक सञ्जाललाई नयाँ मूलधारको मिडियाको रूपमा स्वीकार गर्दै यसलाई नियमन गर्नुपर्नेमा जोड दिएका हुन् ।

मन्त्री खरेलले स्पष्ट पारे, ‘सामाजिक सञ्जाल कहिल्यै पनि बन्द हुनु हुँदैन र बन्द गरिँदैन। नयाँ मूलधारको मिडियाको रूपमा रहेका सामाजिक सञ्जालहरू कहिले पनि बन्द हुँदैनन् । कुनै पनि सञ्चार माध्यम बन्द हुने कुरा स्वीकार्य छैन ।’

उनले थपे, ‘सरकारले जनताको आवाज सुन्नुपर्छ, देखिनुपर्छ र महसुस पनि हुनुपर्छ। त्यसकारण सञ्चार मन्त्रालय सुनिन्छ, देखिन्छ र महसुस पनि हुन्छ ।’

साथै, मन्त्री खरेलले अनलाइन पत्रकारहरूको तालिमका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै डिजिटल मिडियासँग सम्बन्धित संस्थाहरूले संस्थागत रूपमा पहल गरे मन्त्रालय तयार रहेको बताएका छन् ।

अनलाइन र अन्य सञ्चारमाध्यमको दर्ता प्रक्रिया सूचना विभागमार्फत हुने निर्णय भएको उल्लेख गर्दै उनले भने, ‘यस विषयले मलाई पनि पीडा महसुस भइरहेको थियो । पहिलो क्याबिनेटबाटै सूचना विभागमार्फत दर्ता प्रक्रिया हुने निर्णय गरियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?