ओली सामु आत्मसमर्पण गर्नेहरुले नेकपा एसको औचित्य पुष्टि भएन भनिरहेका छन् : अध्यक्ष नेपाल

लोकपथ
427
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओलीलाई नेपालको सबैभन्दा अहंकारी प्रधानमन्त्री भएको आरोप लगाएका छन् ।

काठमाडौंमा बुधबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त टिप्पणी गरेका हुन् । उनले एमाले विभाजनको औचित्य पुष्टि नभएको भन्ने अभिव्यक्तिलाई ओली सामु आत्मसमर्पण गर्नुजस्तै भएको बताए ।

उनका अनुसार, एमालेभित्रको विद्रोह र नयाँ पार्टी गठन ‘ओलीको अहंकारी र स्वेच्छाचारी प्रवृत्तिको विरुद्धको आवश्यक कदम’ थियो । उनले भने, ‘सत्तामा रहेका अत्यन्तै अहंकारी प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट च्युत गर्ने काम भयो । उनको शासन र पार्टी सञ्चालनको तरिका सबैले भोगेका छन् ।’

अध्यक्ष नेपालले थपे, ‘एमाले विद्रोहको कुनै औचित्य थिएन, नयाँ पार्टी खोल्ने कुराको कुनै अर्थ थिएन भन्नु भनेको केपी ओलीको सामु लम्पसार पर्ने र आत्मसमर्पण गर्नु बाहेक केही होइन । त्यो हामीलाई स्वीकार्य भएन, त्यसैले नयाँ पार्टी निर्माण गर्नुपर्‍यो ।’

उनले पार्टी निर्माण कार्य देशभरका कार्यकर्ताको भावना र परिस्थितिले नै आवश्यक बनाएको बताए । नेपालका अनुसार हालको घटनाक्रमले पनि नेकपा (एस) गठनको औचित्य पुनः पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?