विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा दल दर्ताको निवेदन

लोकपथ
287
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।

मंगलबार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘कर्णजित’को नेतृत्वमा आयोगको कार्यालय पुगेका नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाममा दल दर्ताको निवेदन बुझाएका हुन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई निवेदन बुझाउँदै प्रवक्ता विश्वकर्माले पार्टीले संसदीय राजनीतिमा सहभागी हुने निर्णय गरेको बताए । उनले भने, ‘नेपालको उन्नति, प्रगति र जनताको चाहनालाई यथार्थमा बदल्नका लागि नेकपाले निर्वाचन प्रक्रियामा सहभागी हुने निर्णय विशेष र ऐतिहासिक हुनेछ ।’

उनका अनुसार, अहिलेको राजनीतिक परिस्थितिमा निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि पार्टीले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रवक्ता विश्वकर्माले थपे, ‘हामीले सुरु गरेको यो दल दर्ता प्रक्रिया मुलुकमा विद्यमान समस्या समाधान र नेपाली जनताको आकांक्षा पूरा गर्ने दिशामा महत्त्वपूर्ण कदम हो । निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न पार्टीको तर्फबाट कुनै कसर बाँकी रहने छैन ।

उनले नेकपा लामो समयदेखि जनताको मुक्ति र देशको समृद्धिका लागि क्रियाशील रहेको स्मरण गर्दै, अब संसदीय राजनीतिको माध्यमबाट मुलुकको विकासका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?