छठका व्रतालु बिहानै स्नान गरी निर्जल व्रत बसे, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

लोकपथ
49
Shares

काठमाडौं । सूर्य, छठी माता र नदीको पूजाआराधना गरी मनाइने छठका व्रतालु बिहानै स्नान गरी निर्जल व्रत बसेका छन् ।

दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ दिइँदै छ । छठको मुख्य दिन आज राजधानीको गुह्येश्वरीबाट गौरीघाटसम्म बनेको छठ घाटमा भक्तजनको चहलपहल बढेको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ पर्व मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?