बढ्दैछ मिर्गौला रोग, यस्ता लक्षण देखिएमा हुन सक्छन् किड्नी फेल 

काठमाडौं । पछिल्ला वर्षहरूमा नेपालमा किड्नीसम्बन्धी रोग तीव्र रूपमा बढ्दै गइरहेको छ । विशेषज्ञहरूको भनाइ छ, प्रारम्भिक चरणमा रोगको लक्षण सामान्य देखिने भएकाले धेरै बिरामी ढिलो मात्र अस्पताल पुग्ने गर्छन्, जसका कारण समस्या जटिल बन्न पुग्छ ।

किड्नी रोग विशेषज्ञ (नेफ्रोलोजिष्ट) डा. दीपक रौनियारका अनुसार, ‘किड्नीले शरीरको विषाक्त पदार्थ (टक्सिन) र अतिरिक्त पानी फिल्टर गर्ने मुख्य काम गर्छ । तर, जब किड्नीले आफ्नो कार्यक्षमता गुमाउन थाल्छ, शरीरमा पानी सञ्चित भई सुन्निने समस्या देखा पर्छ । त्यसपछि बिस्तारै किड्नीले काम गर्न छाडेर किड्नी फेल हुन्छ ।’

किड्नी फेल हुन लागेका मुख्य संकेतहरू : डा. रौनियारका अनुसार किड्नी फेल हुन थालेको पहिलो संकेत शरीर सुन्निनु हो । त्यसपछि पिसाबमा फिँज आउनु, पिसाबको मात्रा घट्नु, शरीरमा अस्वस्थता महसुस हुनु र लगातार थकान हुनु जस्ता लक्षण देखिन्छन् ।

डा. दीपक रौनियार

अन्य प्रमुख लक्षणहरू यस्ता छन् :

-शरीर सुनिने : मुख, आँखामुनि र खुट्टा सुन्निन थाल्नु किड्नी कमजोर हुँदै गएको संकेत हुन सक्छ । 

– पिसाबमा परिवर्तन : पिसाबमा फिँज आउनु, पिसाबको रंग चिया जस्तो हुनु, पिसाबको मात्रा घट्नु वा बढ्नु, राति बेरसम्म पिसाब आउने समस्या ।

अन्य सामान्य लक्षण : लगातार थकान महसुस हुनु, सुस्ती लाग्नु, छाला सुख्खा र खजलो मच्चिनु, भोक नलाग्नु, खानेकुरामा स्वाद नआउनु, तल्लो तहको पुस्टी दुख्नु, तौल बिनाकारण घट्नु, रक्तअल्पता (एनिमिया) हुनु ।

किड्नी रोगको जोखिम कसलाई बढी ?

नेपालमा उच्च रक्तचाप, मधुमेह, अनियमित खानपान र व्यस्त जीवनशैलीका कारण किड्नी रोगका बिरामीको संख्या लगातार बढ्दो क्रममा छ । चिकित्सकहरूका अनुसार मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा नराख्दा दीर्घकालीन रूपमा किड्नीमा असर पुग्छ, जसले अन्ततः किड्नी फेल हुने जोखिम बढाउँछ ।

मधुमेह, उच्च रक्तचाप, मोटोपन भएका र लगातार नदुख्ने औषधिको सेवन धेरै गर्ने व्यक्तिलाई किड्नी फेल हुने जोखिम बढी हुन्छ । त्यस्तै परिवारमा कसैलाई किड्नी सम्बन्धी समस्या छ भने अन्य सदस्यलाई पनि सम्भावना हुन्छ ।

के गर्ने, कहाँ जाँच गर्ने ?

डा. रौनियारको सुझाव छ, ‘लक्षण देखापर्ने बित्तिकै उपचार गर्न सकेमा अधिकांश किड्नी रोग औषधिबाटै पूर्ण निको पार्न सकिन्छ । तर किड्नी फेल भइसकेको छ भने यसलाई पूर्णरूपमा निको पार्न सकिँदैन । यस्तो अवस्थामा दुई वटा मात्र विकल्प हुन्छ जीवनभर डायलाइसिस गर्ने वा किड्नी प्रत्यारोपण गर्ने ।’

उनी भन्छन्, ‘धेरै बिरामी तब मात्र अस्पताल पुग्छन्, जब किड्नीको ७०–८० प्रतिशत कार्यक्षमता गुमिसकेको हुन्छ । त्यस बेला उपचार कठिन र खर्चिलो बन्न जान्छ । त्यसैले समयमै परीक्षण, उचित आहार र जीवनशैलीमा सुधार गर्न जरुरी छ ।’

किड्नी स्वस्थ राख्नका लागि के गर्ने ?

– सन्तुलित आहार : दैनिक खाने खानेकुरामा कार्बोहाइड्रेट, प्रोटिन, मिनरल्स, फाइबर, क्याल्सियम र भिटामिनको सन्तुलित रूपमा समावेश गर्ने ।

– पर्याप्त पानी पिउने : शरीरलाई आवश्यक पर्ने मात्रामा पानी पिउनुपर्छ ।

– नियमित व्यायाम : शारीरिक सक्रियता बनाइराख्नुपर्छ ।

– मद्यपान र धूम्रपानबाट टाढा रहने : यसले किड्नीमा थप तनाव बढाउँछ ।

– नियमित स्वास्थ्य जाँच : ३० वर्ष नाघेपछि सबैले कम्तीमा वर्षमा एक पटक स्वास्थ्य परीक्षण गर्न आवश्यक हुन्छ । मिर्गौलाको समस्या भएको शंका भए रक्तचाप, शरीरमा चिनीको मात्रा र पिसाबको परीक्षण गर्नुपर्छ ।

डा. रौनियारको भनाइमा, ‘किड्नी हाम्रो शरीरको मौन तर महत्वपूर्ण अंग हो । जबसम्म यसले काम गर्न बन्द गर्दैन, मानिसलाई यसको महत्त्व थाहा हुँदैन । त्यसैले शरीरमा सानो परिवर्तन वा असामान्य लक्षण देखिए पनि बेवास्ता नगरी तुरुन्त चिकित्सकसँग परामर्श लिनु नै सबैभन्दा बुद्धिमानीपूर्ण निर्णय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?