गृहमन्त्री अर्यालले देश छाडिसकेको भनिएका पूर्वउर्जामन्त्री खड्का आफ्नो जलेको घरबाट भए सार्वजनिक

लोकपथ
1.6k
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेको भनिएका तत्कालीन ऊर्जामन्त्री दीपक खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन् । गृहमन्त्री अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री खड्का भागेको भनेर दाबी गरेको दुई दिनपछि नै उनी आफ्नै जलेको घरबाट सार्वजनिक भएका हुन् । 

गृहमन्त्री अर्यालले शनिबार मात्रै एक अन्तर्वार्तामा भनेका थिए, हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ । कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके । अरू पनि भाग्न खोज्दै छन् । उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका छौँ ।’

नेपाली कांग्रेसका नेता खड्काले आज सञ्चारकर्मीसँग बोल्दै आफू सरकारसँग नडराउने बताएका छन् । ‘सरकारले मलाई वारेन्ट काटेको छ र ? बाहिर जान रोक लगाएको छ र ?’ पूर्वमन्त्री खड्काले प्रश्न गरे, ‘म भागे भन्न मिल्छ ? झिनामसिना कुराले मलाई छुँदैन । म डराउँदिनँ ।’

उनले जेनजी आन्दोलनका क्रममा २४ भदौका दिन आफू घरमै रहेको पनि जानकारी दिए । 

‘आर्मीहरूले सुरक्षित गरेर संरक्षण गरेको हो । २४ गते म घरमै थिएँ । खाना खाँदै थिएँ,’ खड्काले भने, ‘मेरो घरमा आगजनी हुँदै गर्दा ढोका ढ्याङ–ढ्याङ गरेपछि खान पनि पाइनँ, बच्चालाई पनि खुवाउन पाइनँ । अंगरक्षक साथीहरूले बाहिर निकाल्नुभयो ।’

त्यसपछि छिमेकीको घरमा बसेको र राति नेपाली सेनाको ब्यारेकमा बसेको उनले बताए । ‘म छिमेकीकोमा बसेँ । राति त्यहाँबाट निस्किएर आर्मी क्याम्पमा बसियो,’ उनले भने, ‘त्यसपछि तराईतिर तीन–चार दिन बसेँ ।’ 

उनले तराईबाट आफू सोझै उपचारका लागि भारत गएको बताए । उनले चेकअपका क्रममा आफूलाई डेंगु भएको पनि बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?