काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणका लागि अरुले कुरा उठाइरहनुनपर्ने टिप्पणी गरेका छन् ।
तीन दिनदेखि चलेको एमाले केन्द्रीय कमिटी बैठकको समापन समारोहमा बोल्दै ओलीले आफूले विद्यालाई राम्रैसँग चिन्ने भन्दै कोही माइती बनेर आइरहनुनपर्ने बताए । साथै उनले आफूले विद्यादेवी बिरामी हुँदा आफूले सहयोग गरेर उपचार गर्न लगाएको समेत स्मरण गराए ।
‘कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनु पर्दैन। म विद्या भण्डारीलाई राम्रै जान्दछु। उहाँ असजिलो अवस्थामा हुनुहुँदा उहाँको उपचार गर्न निर्णय गर्न लगाएको थिएँ,’ ओलीले भनेका छन् ।
केन्द्रीय कमिटी बैठकमा ५० जना भन्दा बढी केन्द्रीय सदस्यहरुले विद्याको सदस्यता नवीकरण हुनुपर्ने विषय उठाएका थिए । तर ओलीले आफू सहजताको मात्र नभएर भण्डारीको असहजताको समेत साथी रहेका कारण अरुले त्यसबारे धेरै टिप्पणी गर्नु नपर्ने बताए ।
‘म उहाँको अप्ठ्यारो बेलाको साथी हुँ। कसैले यहाँ ठूलो कुरा नगरौँ । म सजिलो हेलाँको होइन, असजिलो हेलाँको साथी हुँ,’ उनले भने ।
दुई कार्यकाल राष्ट्रपति भइसकेपछि भण्डारी पुनः एमालेको राजनीतिमा आउने तयारी गरेकी छन् । गत असार १४ गते उनले आफू सक्रिय राजनीतिमा आउने घोषणा गरी पार्टी सदस्यता समेत नवीकरण गरिसकेको बताएकी थिइन् । तर एमालेले भने उनले पार्टी छाडेर राष्ट्रपति बन्न गएको भन्दै पार्टी सदस्यता नवीकरण गर्न नसकिने भन्दै सदस्यता नवीकरण रोकेको थियो ।
आजको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका पदाधिकारीहरुले समेत भण्डारीको सदस्यता नवीकरण गर्न माग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया