काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारले आसन्न निर्वाचनको तयारीमा कुनै उत्साह, जोश र जाँगर देखाउन नसकेको आरोप लगाएका छन् ।
बिहीबार निर्वाचन आयोगले राजनीतिक दलहरूसँग गरेको परामर्शपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘सरकार एकातिर निर्वाचन गर्नका लागि बनेको हो, तर उसले अहिले कुनै पनि जोश, जागर र चाल देखाइरहेको छैन ।’
उनका अनुसार निर्वाचन आयोग र राष्ट्रपति दुवैले प्रमुख दलहरूलाई बोलाएर निर्वाचन तयारीका विषयमा छलफल गरे पनि सरकारले शान्ति, सुरक्षा र निष्पक्ष वातावरण बनाउन गम्भीर चासो नदेखाएको छ ।
विश्वकर्माले भने, ‘मुख्य दलहरू निर्वाचनमा सहभागी हुन तयार छन्, तर यो केवल प्राविधिक होइन, राजनीतिक र कानुनी विषय पनि हो । अहिले प्रतिनिधि सभा विघटन र सरकार गठनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । त्यसको निर्णयपछि मात्रै निर्वाचनमा सहभागी हुने अवस्था स्पष्ट हुनेछ ।’
उनले संविधानलाई मूल बाटोमा फर्काउने एकमात्र उपाय निर्वाचन नै भएको बताउँदै सरकारलाई तत्काल शान्ति, सुरक्षा र निष्पक्ष वातावरण निर्माणमा ध्यान दिन आग्रह गरे ।
उनको भने, ‘निर्वाचनमा भाग लिनका लागि सरकारले भयरहित वातावरण र निष्पक्षता कायम गर्नुपर्ने हो । तर अहिलेको अवस्थाले त्यो सुनिश्चित गर्न सकिरहेको छैन । सरकारको वर्तमान चाल र तयारी ठिकठाक छैन ।’
विश्वकर्माले निर्वाचन आयोगको पहललाई सकारात्मक बताउँदै आयोगले सबै दलहरूसँग साझा समझदारीका लागि गरेको प्रयासलाई स्वागत गरे । तर, उनले निष्कर्ष निकाल्दै भने, ‘निर्वाचन सफल बनाउन सरकारको इच्छाशक्ति नदेखिँदा जनताको विश्वास कमजोर बन्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया