काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध कैलालीमा जाहेरी दिएको छ ।
अनेरास्ववियु कैलालीका अध्यक्ष कुवेर खड्काले बालेन र सुदनविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका हुन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको विषयलाई लिएर खड्काले जाहेरी दिए पनि दर्ता भने भएको छैन ।
जाहेरवाला खड्काले जेनजी आन्दोलनका क्रममा बालेन र सुदनसहितका व्यक्तिहरुको उक्साहटमा सरकारीदेखि सार्वजनिक एवं राष्ट्रिय सम्पदा समेत नष्ट गरेको पुर्याएको आरोप लगाएका छन् ।
‘…हाम्रो देशको राष्ट्रिय सम्पदाहरु, भवन संरचनाहरु तथा सरकारी कार्यालयका सामान तथा कागजातहरु तथा सरसामानहरु लुटपाट गरी चलअचल सम्पत्ति नष्ट गरेको र उक्त सम्पत्ति नष्ट गर्नुपर्छ भनी विभिन्न मानिसहरुलाई उक्साही कानुन विपरित कार्य गरेको । यसरी गैरकानुनी कार्य गर्न उकास्ने, उक्त कार्य गरेमा मात्र आन्दोलनको माग पुरा हुन्छ भनी अफवाह फैलाइ जिल्लामा रहेका अड्डा अदालत, प्रहरी कार्यालय, विट, वृत्त, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय समेत अन्य सरकारी अड्डाहरुमा आगजनी गर्ने, तोडफोड गर्ने, लुटपाट गर्ने लगायतको कार्य भएको हुँदा कसुरदारहरुलाई हदैसम्मको कारबाही गरी पाउँ,’ जाहेरीमा भनिएको छ ।
आफूहरुले प्रक्रिया पुर्याएर जाहेरी दिएको तर दर्ता हुन बाँकी रहेको खड्काले लोकपथलाई बताए । जेनजी आन्दोलनमा भएका घटनाहरुको छानबिनका लागि गठित जाँचबुझ आयोगसँगको समन्वयमा जाहेरी दर्ता हुने प्रक्रिया अघि बढ्ने उनले बताए ।
‘हामीले जाहेरी दिएका छौँ । तर दर्ता भएको छैन । जिल्ला प्रहरी कार्यालयले केन्द्र र जाँचबुझ आयोगसँग समन्वय गरी दर्ता प्रक्रिया अघि बढाउनेछ,’ उनले भने ।
त्यसो त बालेन र सुदनविरुद्ध एमाले निकट अनेरास्ववियुले देशभर जाहेरी दिने तयारी गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया