पोखराको लिची बगान जग्गा घोटाला प्रकरण : पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोकपथ
2.9k
Shares

काठमाडौं । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा मुछिएका दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूसँग ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

जग्गा घोटाला प्रकरणमा मुछिएका गुप्ता एमालेका नेता हुन् भने श्रेष्ठ नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष हुन् । 

पूर्वमन्त्री गुप्ताले बिचौलियाहरूसँग घुस डिल गरेको श्रव्य सामग्री सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । उक्त श्रव्य सामग्रीमा एमालेकै अर्का पूर्वमन्त्री बलराम अधिकारीको नामसमेत लिइएको छ । अधिकारीको संलग्नता स्पष्ट नभइसकेकाले अनुसन्धान जारी रहेको र त्यो सकिएपछि पूरक अभियोग लैजान सकिने अख्तियार स्रोतले बताएको छ ।

जग्गा हिनामिना गर्ने योजनामा भएको घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको थियो । 

कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र बिचौलियाको अडियो सार्वजनिक भएको थियो । त्यसपछि अख्तियारले पूर्वमन्त्रीसहित बिचौलियाको बयान लिएको थियो । घूस डिलको अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?