दसैँको दक्षिणा : रमाइलो मात्र होइन, भविष्य निर्माणको अवसर पनि

काठमाडौं । नेपाली हिन्दूहरूको महान चाड दसैँ सुरु भएको छ । दसैँ भन्ने बित्तिकै मान्यजनबाट प्राप्त हुने आर्शिवादसहित टीका, जमरा र दक्षिणा पनि जोडिएर आउँछ । दसैँतिहार जस्ता चाडपर्वहरुसँगै जोडिएर खर्चको पनि कुरा आउँछ । परापूर्वकालदेखि नै दसैँमा टीकासहित दक्षिणा पनि एक महत्वपूर्ण पाटो हो । टीका थाप्न आएका आफन्तहरुलाई गच्छे अनुसारको दक्षिणा दिइने गरिन्छ । जति थोरै नै किन नहोस् त्यसको महत्व धेरै हुने गर्दछ ।

अझ बालबालिकामा त दक्षिणालाई महत्व दिने गर्दछन् । मामाघर र आफन्तबाट कति दक्षिणा पाइयो भन्ने कौतुहलता देखिन्छ, जुन तपाईँ हामीले पनि बाल्यकालमा भोगेर आएको विषय हो । तर दक्षिणका रुपमा प्राप्त रकमलाई सदुपयोग गर्ने संस्कार भने अझै विकसित हुन सकेको छैन । स–सानो रकम पनि बचत वा लगानीमार्फत ठूलो भविष्यको आधार बन्न सक्छ, त्यसतर्फ हामीले ध्यान दिन सकिरहेका नहुन सक्छौँ ।

दसैँको दक्षिणा खर्च गर्न अनेक बाहनाहरु हुन्छन् तर तपाईँहरूमध्ये सबैको मन खर्च गर्ने खालको नहुन पनि सक्छ । कतिपय अवस्थामा थोरै पैसाको सदुपयोग गरेर कसरी राम्रो ठाउँमा लगानी गर्ने भन्ने ज्ञान नहुँदा स्वतः खर्च भएर त्यो रकम सकिन्छ । थोरै लगानीले पनि भविष्य निर्माणका लागि सहयोग पुर्‍याउन सक्छ ।

सानै रकमबाट सामान्य बचत सुरु गर्न पनि सकिन्छ । जहाँ तपाईँको दक्षिणाको सही सदुपयोग हुनसक्छ । दसैँमा जम्मा भएको दक्षिणा बैंक खाता सञ्चालन गरेर जम्मा गर्न पनि सकिन्छ । भनिन्छ नि, आजको बचत नै भविष्यको सारथी हो । सानो सानो पैसा जम्मा गरेर नै धेरै बचत हुने गर्दछ । त्यसैले बैंकमा बचत गर्नु पनि राम्रो हुन्छ ।

दक्षिणाको सही सदुपयोगका उपायमा बैंकमा बचत, बीमा योजना र शेयर बजारमा सानो रकमबाट लगानी गर्न सकिन्छ । बैंकमा बचत गर्दा रकम सुरक्षित रहन्छ भने बीमा गर्नाले आकस्मिक परिस्थितिमा सुरक्षा मिल्छ । सानो रकमबाट पनि आइपीओमार्फत शेयर बजारमा लगानी गर्न सकिन्छ, तर यसका लागि शेयर बजारको राम्रो ज्ञान आवश्यक हुन्छ ।

दसैँको दक्षिणा के–केमा लगानी गर्न सकिन्छ ?

शेयर बजारमा लगानी
दसैँको अवसरमा बालबालिकाले प्राप्त गरेको दक्षिणा उनीहरूको भविष्य निर्माणका लागि उपयोग गर्न सकिन्छ । बालबालिकाको नाममा डिम्याट खाता खोलेर थोरै रकमबाट पनि शेयर बजारमा लगानी सुरु गर्न सकिन्छ ।
शेयर बजारमा लगानीका लागि ठूलो पुँजी आवश्यक पर्ने धारणा पुरानो छ । सानो रकमबाट पनि लगानी सम्भव भएको कारणले गर्दा बालबालिकाले पाएको दक्षिणा, जसको रकम सामान्यतया एक हजार रुपैयाँ जति हुन्छ, त्यसबाट पनि कम्पनीहरूले निष्कासन गर्ने आईपीओमा लगानी गर्न सकिन्छ ।

बीमा गर्ने

दसैँमा जम्मा भएको रकमबाट बीमा गर्न पनि सकिन्छ । बीमा गर्नका लागि ठुलै रकम चाहिन्छ भन्ने छैन । आफूलाई उपयुक्त हुने बीमा योजना छनौट गर्न पनि सकिन्छ । दसैँपछिको अवधिलाई बीमा शुल्क भुक्तान गर्ने अवधि बनाएर दसैँमा जम्मा भएको दक्षिणा पनि त्यसैमा समावेश गर्न सकिन्छ ।

पुस्तकमा लगानी

पुस्तकको लगानी सबैभन्दा ठूलो लगानी हो । अध्ययन यस्तो कुरा हो, जसले कसरी धनी बन्ने भन्ने मात्र होइन आफूसँग भएको स–सानो पुँजीलाई कसरी ठूलो बनाउने भन्ने समेत बाटो देखाउँछ । आज विश्वका प्रभावशाली व्यक्तिहरू अध्ययनकै कारणले नै प्रभावशाली बन्न सकेका हुन् । त्यसैले दसैँको दक्षिणा मात्र होइन अन्य फजुल खर्च समेत कटाएर त्यसलाई पुस्तकका लगानी गर्न सके हामीलाई सफल बनाउने माध्यम बन्न सक्छ ।

खुत्रुकेमा राख्ने

विशेष गरी दसैँ र तिहारमा प्राप्त हुने थोरै रकम बालबालिकाले आफ्नै खुसीले खुत्रुकेमा राख्दा उनीहरूमा बचत गर्ने बानी मात्र होइन, आत्मसन्तुष्टिको भावना पनि विकास हुन्छ । बालबालिकाले पैसा आवश्यक परेमा आफैँ निकाल्न सक्ने भएकाले, उनीहरूमा पैसाको महत्वबारे बुझाइ पनि बढ्छ ।

यसरी, चाडपर्वको अवसरमा बालबालिकालाई दिइने थोरै रकम पनि सही प्रयोगमा ल्याउँदा उनीहरूको आर्थिक बानीमा सकारात्मक प्रभाव पर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?