काठमाडौं । दसैँ सुरु भएसँगै देशको संघीय राजधानी राजधानीको मुख्य व्यापारिक केन्द्र न्यूरोडमा चहलपहल रूपमा बढेको छ ।
घटस्थापना सुरु भएसँगै बिहानदेखि बेलुकीसम्म यहाँ किनमेल गर्नेहरुको भीड देखिन्छ । दसैँका लागि प्रयोग हुने टिका सामग्री, फूलदेखि कपडा, जुत्ता, गरगहना र मिठाइसम्म खरिद गर्न आउने ग्राहकले बजार रङ्गीन बनेको छ । व्यापारीहरू भने यसलाई वर्षकै सबैभन्दा ठूलो अवसर मान्दै बिक्रीमा उत्साह व्यक्त गरिरहेका छन् ।
दसैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्यूरोडका व्यापारीहरु चिन्तित बनेका छन् । काठमाडौंको न्यूरोडदेखि असनसम्मका व्यापारीहरु दसैँको मुखमा पनि सोचेअनुसारको व्यापार नभएको गुनासो गर्छन् ।
युवा पलायनताको अवस्थाका कारण पनि बजारमा पछिल्ला वर्षहरुमा चहलपहल घटिरहेको छ । दसैँको समयमा गत वर्षमा ग्राहकहरुको ठेलमठेल हुने असन र न्यूरोड क्षेत्र अहिले भने केही शान्त देखिन्छ । न्यूरोड क्षेत्रमा भाँडाको व्यापार गर्दै आइरहेका नवराज दंगालले अघिल्ला वर्षहरु भन्दा यसवर्ष व्यापारमा कमी आएको गुनासो गर्छन् ।
उनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको अर्थतन्त्रमा शिथिलता आएसँगै व्यापारमा पनि शिथिलता आएको हो ।
जेनजी आन्दोलनको प्रभाव दसैँको तयारीमा स्पष्ट देखिन थालेको छ । राजधानीदेखि जिल्लासम्मका बजारमा यस वर्षको दसैँ किनमेल अपेक्षाकृत सुस्त देखिएको व्यापारीहरूको भनाइ छ ।
गत भदौको तेस्रो साता नेपालमा भएको जेनजी आन्दोलनका कारण धेरै ठाउँमा व्यावसायिक गतिविधि प्रभावित भएका थिए । पसल तथा प्रतिष्ठानमा तोडफोड, सम्पत्तिमा क्षति र लामो समयसम्मको बन्द हड्तालले व्यापारिक वातावरण कमजोर बनेको व्यापारीहरू बताउँछन् ।
गत वर्षहरुमा न्यूरोड क्षेत्रमा हिँड्नेसमेत ठाउँ नहुने गरेर मानिसहरु किनमेलका लागि आउने गरेपनि यसवर्ष भने कम मात्रै आइरहेको उनले दंगालको दाबी छ । दसैँ नजिकिएसँगै व्यापार पनि होला भन्ने सोचले सामान ल्याएको तर ग्राहक नआउँदा आफूहरु अहिले समस्यामा परेको दंगालको गुनासो छ ।
त्यसो त ग्राहकहरु पनि दसैँको लागि सस्तो र गुणस्तरीय सामानको खोजीमा हुन्छन् । उनीहरु विभिन्न क्षेत्रमा भाउ बुझ्न मात्र पनि पुग्छन्, साथै आफूलाई उचित लागेको मूल्यमा सामान पाएमा खरिद गर्छन् ।
दसैँको लागि किनमेल गर्न न्यूरोड पुगेकी भगवती तिमल्सिना अन्य ठाउँमा भन्दा न्यूरोडमा केही सस्तो पाइन्छ कि भनेर आएको सुनाउँछिन् । बालबच्चालाई लत्ताकपडादेखि घरायसी सामान समेत किन्न पुगेकी तिमल्सिना अघिल्ला वर्षहरुमा जस्तो हात खोलेर खर्च गर्न सक्ने अवस्थामा नेपालीहरु नरहेको गुनासो गर्छिन् ।
यता सो क्षेत्रमा कपडाको व्यापार गर्दै आएका अशोक धन तुलाधरको पनि गुनासो उही छ । बजारमा चहलपहल भए पनि अपेक्षाकृत व्यापार हुन नसकेको उनको भनाइ छ । ‘यो सालको दसैँमा व्यापारमा शून्यता नै छाएको अवस्था त होइन, तर अपेक्षाकृत व्यापार भने हुन सकेको छैन । हेरौँ अझै केही दिन बाँकी छ, राम्रो व्यापार होला कि !’
त्यसो त पछिल्ला वर्षहरुमा अनलाइन व्यापारका कारण पनि बजारमा मानिसहरुको चहलपहल घटेको तुलाधरको बुझाइ छ । हुन त अहिले अनलाइनबाट कपडादेखि आवश्यकीय वस्तु किन्ने प्रचलन जस्तै बनेको छ, जसका कारण पनि बजारमै उपस्थित भएर किन्नेहरुको संख्यामा कमि आएको हो ।
उनले भने, ‘हाम्रो पसलमा जाडोको लागि सम्पूर्ण कपडा छ तर अहिलेको समयमा अनलाइन विजनेशले गर्दा व्यापार चौपट भएको छ ।’
अन्य व्यापारीहरुको पनि तर्क अनलाइन व्यापारका कारण कोरोनाकाल भन्दा अघिका वर्षहरुमा जस्तो व्यापार हुन नसकेको तर्क गर्छन् ।
दसैँ नजिक आएसँगै काठमाडौंमा मात्र होइन देशका अन्य साना ठूला बजारहरुमा भीडभाड र चहलपहल बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया