काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश र इतिहासलाई माया गर्ने व्यक्तिले सिंहदरबार जलाउन नसक्ने टिप्पणी गरेका छन् ।
विजया दशमीको अवसरमा गुण्डुस्थित निवासमा पार्टी नेता तथा कार्यकर्ताहरूसँग शुभकामना आदानप्रदान गर्दै उनले मुलुकको अवस्था चिन्ताजनक भएको बताए । ‘राष्ट्रलाई अहिले ठुलो पीर परेको छ, तर यो देश नेपालीले नै बनाउनुपर्छ,’ ओलीले भने ।
उनका अनुसार भावनामा बगिँदा मुलुकले ठुलो क्षति भोगिरहेको छ । सभ्य, सुसंस्कृत र जिम्मेवार बन्नुपर्नेमा असभ्य र गैर जिम्मेवार प्रवृत्ति हाबी हुँदै गएको उनले बताए । ‘युवापन भनेको जिम्मेवारी लिनु हो, तर अहिले नलेज सिकाइन्छ, क्यारेक्टर सिकाइँदैन,’ उनले भने ।
देश बदनाम भएको, धेरै मुलुकले नेपालीलाई भिसा र रोजगारीमा रोक लगाएको परिस्थितिबाट नेपाल लज्जित भएको उनको भनाइ छ । ‘नेपाल इमान्दार र कर्मठ मानिसको देश हो भनेर चिनाउनुपर्छ, यो काम अरूले गर्दैनन्, हामी आफैँले गर्नुपर्छ,’ ओलीले जोड दिए ।
काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) लाई लक्षित गर्दै उनले सिंहदरबार जलाउने चेतावनी पहिले नै दिइएको उल्लेख गरे । ‘सिंहदरबार, संसद् भवन जलाउनु योजनाबद्ध काम हो । देश र इतिहासलाई माया गर्नेले यस्तो गर्दैन, घुसपैठ तत्त्वहरूले गरेको हो, ‘ उनले आरोप लगाए ।
अन्त्यमा उनले निराश नहुन र संगठित भएर अघि बढ्न आह्वान गर्दै भने, ‘बादल लाग्यो भन्दैमा हट्दैन भन्ने होइन, साँझ पर्यो भन्दैमा भोलि बिहान उज्यालो हुँदैन भन्ने पनि होइन । देशलाई हामीले नै सच्याउनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया