काठमाडौं । भन्सार, मालपोत र न्यायालयमा आफ्ना प्रतिनिधि वा आफूहरूले सिफारिस गरेको मान्छे राख्न माग गरेपछि यति बेला पूर्व एमाले कार्यकर्ता ट्रोलिङमा परेकी छिन् । नेकपा एमालेनिकट अखिलकी नेतृसमेत रहेकी जस्मिन ओझा यति बेला ट्रोलिङमा परेकी हुन् ।
जेनजी आन्दोलनले देशमा सत्ता परिवर्तन गरेपछि एकाएक जेन–जी नेपाल नामक संस्थाको नाममा बिहीबार गृहमन्त्री ओमप्रकाश अर्याललाई माग पत्र बुझाइएको थियो । माग पत्र बुझाउनेमा अरू कोही नभएर एमालेनिकट अनेरास्ववियुकी विद्यार्थी नेतृ जस्मिन ओझा थिइन् ।
जेन–जी नेपालको नामबाट जस्मिन आफैले हस्ताक्षर गरेर बुझाएको माग पत्रमा सरकारमा जेन–जीको तर्फबाट ५० प्रतिशत र नागरिक समाजको तर्फबाट ५ प्रतिशत सहभागिता माग गरिएको छ ।
त्यसै गरी सरकार सञ्चालनको नेतृत्व र मन्त्रालयमा जेन-जीको नेतृत्व हुनुपर्ने, संवैधानिक आयोग तथा राजदूतमा जेनजीको ५० प्रतिशत हिस्सा हुनुपर्ने, सिडिओसमेत जेनजीको समन्वयमा पठाउनुपर्ने, भन्सार, मालपोत र न्यायालयका प्रमुख पदहरूमा जेनजीका प्रतिनिधि तथा जेनजीले सिफारिस गरेका प्रतिनिधि हुनुपर्ने लगायतका माग गरिएको थियो ।

यही मागपछि यति बेला जेनजी नेपाल भनेर माग पत्र बुझाउने संस्था र उक्त संस्थाको तर्फबाट माग पत्र बुझाउने जस्मिन ओझा विवादमा परेकी हुन् ।
जस्मिनको पृष्ठभूमि
जस्मिन ओझा कानुनको विद्यार्थी हुन् । यसअघि उनी विभिन्न आन्दोलनमा सहभागीसमेत हुने गरेकी थिइन् । न्यायका लागि भन्दै आन्दोलनमा सहभागी हुने गरेकी उनलाई कतिपय आन्दोलनमा गलत तथ्य बोकेर हिँड्ने गरेको आरोपसमेत लाग्ने गरेको थियो ।
त्यो भन्दा बढी उनी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको सक्रिय सदस्य थिइन् र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट थिइन् । उनले केपी ओलीलाई केपी ‘बा’ भन्ने गरेको र ओलीले सही मार्ग देखाउने अभिभावक भन्ने गरेकी थिइन् ।
अहिले ओझाको त्यही शुभकामना र स्ट्याटस तथा अहिलेको जेनजी नेपालको मागलाई सँगै राखेर ट्रोलिङ भइरहेको छ ।
आफूमाथि ट्रोलिङ भएपछि ओझाले शुक्रबार बिहानै सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै आफू एमालेमा रहनुभन्दा पहिले नै अन्यायविरुद्ध लड्दै आएको र यो सरकार गैर जिम्मेवार बन्दै गएपछि जेनजी आन्दोलनमा सहभागी भएको बताएकी छिन् ।
ओझाले आफूले पार्टीबाट विद्रोह गरेर आन्दोलनमा सहभागी भएको बताउँदै मानवअधिकार, महिला अधिकार र युवापुस्ताभन्दा ठुलो पार्टी हुन नसक्ने भएकाले विद्रोह गरेको बताएकी छिन् ।
हेर्नुहोस्, ओझाको प्रष्टीकरण :
‘म एमाले अखिलमा रहनुभन्दा पहिला नै मानवअधिकार, विशेष गरी महिला र युवायुवती माथि भएको विभेद र अन्यायबिरूद्व लड्दै आएको मान्छे हुँ, त्यस कारण म पटक–पटक पक्राउ परी हिरासतमा पनि बसेको छु, यो सबैलाई जानकारी नै छ तर पछिल्लो समय सरकारको गैर जिम्मेवार क्रियाकलाप र युवापुस्ताको भावना विपरीत गए पछि म जेन जीको आन्दोलनमा सहभागी भएको हुँ ।’
ओझा अगाडि लेख्छिन्, ‘म मात्रै होइन, हजारौँ जेनजीहरू आस्थावान् पार्टीबाट विद्रोह गरेर आन्दोलनमा सहभागी भएको सत्यलाई नकार्न सकिँदैन । त्यसमाथि म सो पार्टीको लामो समयदेखि कुनै जिम्मेवारीमा पनि छैन । मलाई मानवअधिकार, महिला अधिकार र युवापुस्ता भन्दा कुनै पनि पार्टी ठुलो होइन, थिएन र हुने पनि छैन ।’
ओझाको प्रष्टीकरणपछि लोकपथसँग कुराकानी गर्दै आफूले अनेरास्ववियुको सदस्यबाट पहिले नै राजीनामा दिइसकेको बताइन् । उनले भनिन्, ‘म पहिलेदेखि नै निष्क्रिय थिएँ, मैले राजीनामा दिएर नै भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनमा सहभागी भएको हुँ ।’
माग पत्रका सम्बन्धमा केही कमजोरी भएको उनले स्वीकार गरिन् । लोकपथसँग ओझाले भनिन्, ‘खासमा त्यो माग पत्र मैले तयार पारेको थिइन । साथीहरूले तयार पारेको माग पत्र मैले पढेर सुनाएको मात्रै हुँ । माग पत्रमा त्यस्तो कुरा उल्लेख थियो भन्ने कुरा पनि थाहा थिएन । त्यही भएर पढ्दापढ्दै म हाँसेको पनि थिएँ ।’
हेर्दे नहेरी पढेर दिनुभएको हो त भन्ने लोकपथको प्रश्नमा ओझाले भनिन्, ‘छलफल भएको थियो । हामीले भन्न खोजेको स्वच्छ, निष्पक्ष र विवादरहित व्यक्तिलाई ती निकायमा लैजानुपर्छ भन्न खोजिएको हो । भन्सारको कुरा वाच डगका रुपमा रहने कुरा भन्न खोजिएको हो, तर लेखाइमा केही कमजोरी र बुझाइमा बढी कमजोरी भयो, त्यो कुरालाई मिस इन्टरप्रेट गरियो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया