काठमाडौं । नेपालको एक ठूलो व्यवसायीक घराना चौधरी ग्रुपले हालैको घटनाबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
जेनजी आन्दोलनका नाममा भएको तोडफोड, आगजनी र लुटपाटको चपेटामा परेको चौधरी ग्रुपले आफ्ना कर्मचारी तथा परिवारलाई भावुक सन्देश दिँदै आगामी दिनमा पुनः उठ्ने विश्वास व्यक्त गरेका छन् ।
चौधरी ग्रुपको प्रबन्ध निर्देशक निर्वाण चौधरीले जेनजी युवाहरुले सकारात्मक उदेश्यका साथ आन्दोलन सुरु गरे पनि असामाजिक तत्वहरु मिलेर त्यसलाई भड्काएको र त्यसले व्यवसायीक क्षेत्र तहसनहस भएको बताए ।
उनले भनेका छन्, ‘आन्दोलन युवाहरूले देखाएको सकारात्मक उद्देश्यका साथ सुरु भए पनि असामाजिक तत्त्व र बाह्य शक्तिले यसलाई हिंसा, लुटपाट र विनासमा बदलिदिए । यसक्रममा अध्यक्षलाई व्यक्तिगत रूपमा लक्षित गरिनु, पारिवारिक घरमा आक्रमण र आगजनी, कारखाना तथा कार्यालयमा क्षति पुर्याइनु, सोरुम लुटिनुजस्ता घटनाले दशकौंको त्याग र मिहिनेतलाई केही घन्टामै खरानीमा परिणत गरिदियो ।’
चौधरीले अहिलेको कठिन घडीमा सीजी परिवारभित्रको एकता र साहस झन् प्रस्ट भएको बताए । ‘आगोको बीचमा पनि हाम्रो टोलीले हार मानेन, सम्पत्ति जोगाउन, ग्राहकको सेवा सुनिश्चित गर्न जीवन जोखिममा राखेर काम गर्यो। तपाईंहरूकै कारण आशा अझै बाँकी छ ।’
उनले कर्मचारीको समर्पणप्रति आभार व्यक्त गर्दै भने, ‘दुष्कृत्यहरूले हाम्रो भवन जलाए पनि हाम्रो सपना जलाउन सक्दैनन् । उनीहरूले हाम्रो सोरुम लुटे पनि मूल्य लुट्न सक्दैनन् । उनीहरूले हामीलाई कमजोर बनाउन खोजे पनि हाम्रो परिवारको एकता भंग गर्न सक्दैनन् ।’
चौधरीले चौधरी समूह नेपालको सबैभन्दा ठूलो करदातामध्ये एक प्रमुख रोजगारदाता र राष्ट्र निर्माणमा अग्रणी भएको स्मरण गराउँदै, भूकम्पदेखि महामारीसम्म हरेक संकटमा अग्रपंक्तिमा उभिएको बताएका छन्। उनले थपे, ‘हाम्रो जिम्मेवारी अझै सकिएको छैन। हामी पुनः उठ्नेछौं, नयाँ शक्ति, नयाँ विचार र अझ गहिरो प्रतिबद्धतासहित।’
चौधरीले वर्तमान परिस्थितिका कारण आफूहरु व्यवसायीक जग हल्लिए पनि नभाँचिएको भन्दै आगामी दिनमा थप दर्बिलो बनेर उठ्ने बताए ।
‘हामी आहत छौँ, हामी हल्लिएका छौँ तर, हामी भाँचिएका छैनौँ,’ चौधरीले सन्देशमा स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया