काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता विषयमा फरक मत राख्न नपाइने स्पष्ट पारेका छन् ।
बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले विधान महाधिवेशनमा पार्टी दस्ताबेजमाथि मात्रै छलफल हुने प्रावधान रहेको भन्दै केन्द्रीय कमिटीको निर्णयमाथिको असहमती त्यहाँको विषय नबन्ने बताए ।
उनले भने, ‘विधान महाधिवेशनमा फरक मतको अनुमान नगरौँ । अहिले जे फरक मत आएको छ, त्यो निर्णयमाथि हो, दस्ताबेजमाथि होइन । त्यसैले विधान अधिवेशनमा प्रस्तुत गर्न नमिल्ने हो ।’
यसअघि उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्नुपर्ने धारणा राख्दै केन्द्रीय कमिटी बैठकमै फरक मत प्रस्तुत गरेका थिए । महासचिव पोखरेलले भने पार्टी निर्णयमाथिको असहमती राष्ट्रिय महाधिवेशनमा उठाउन सकिने स्पष्ट पारे ।
त्यसैगरी स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टी जीवनको लोकतान्त्रिकरणको विषयमा उठाएको असहमती विधानसँग सम्बन्धित भएकाले विधान अधिवेशनमा छलफल हुन सक्ने उनले बताए ।
एमालेले यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा दोस्रो राष्ट्रिय विधान महाधिवेशन गर्ने तयारी गरेको छ । अधिवेशनमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव पोखरेलले संगठनात्मक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
महाधिवेशनमा हुने सम्पूर्ण खर्च पार्टी केन्द्रीय कमिटीले व्यहोर्ने निर्णय गरेको समेत महासचिव पोखरेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया