काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबिच अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ ।
भेटमा अर्थतन्त्र, शहरी पूर्वाधार, लगानी, पर्यटन र वातावरण जस्ता विषयमा छलफल भएको जानकारी दिइएको छ ।
अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकहरूमा उल्लेखनीय सुधार आएको उल्लेख गर्दै नेपालले नीतिगत, संरचनागत तथा निर्णय र कार्यान्वयन प्रक्रियामा सुधार गरेको बताए ।
उनले विश्व बैंकको आगामी ६ वर्षका लागि तयार पारिएको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालको विकास आवश्यकता र सरकारको प्राथमिकतासँग सुसंगत भएको बताए र फ्रेमवर्क अनुसारका आयोजनाहरूमा सहकार्य गर्न इच्छा व्यक्त गरे ।
पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा छलफलमा रहेको जानकारी दिँदै, विधेयक पास भएपछि निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने परियोजनामा लगानी गर्ने योजना रहेको बताए। उनले विधेयकका लक्ष्य अनुसार अघि बढ्न विश्व बैंकको सहयोगको अपेक्षा पनि राखे ।
विश्व बैंकका उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका परिसूचक सुधार हुनु सकारात्मक भएको टिप्पणी गर्दै, लगानी अझ बढाउनु आवश्यक रहेको बताए । उनले लुम्बिनी र काठमाडौं उपत्यकाको शहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण र आर्थिक वृद्धिका लागि विश्व बैंकले सहयोग गर्ने बताएका छन् ।
उपाध्यक्ष जुटले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी कानुन लागू भएपछि पूर्वाधार क्षेत्रमा नयाँ लगानी सम्भावना सिर्जना हुने विश्वास व्यक्त गर्दै, निजी क्षेत्रको लगानी आकर्षित गर्न र आर्थिक वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्न सहयोग पुर्याउने बताए । उनले लगानी र उत्पादकत्व वृद्धिमा ध्यान केन्द्रित गर्न पनि सुझाव दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया