प्रचण्डद्वारा पार्टी नेताहरुलाई आत्मसमीक्षा र संगठन विस्तारमा जुट्न निर्देशन

लोकपथ
105
Shares
फाइल तस्बिर

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठन निर्माणको निम्ति आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । 

पार्टीको सुदूरपश्चिम प्रदेश समिति सचिवालयको बैठकलाई आज भर्चुअल माध्यमद्वारा सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा  राखेका थिए । उनले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई संगठनमा रूपान्तरण गर्न सके मात्रै दीर्घकालीन उपलब्धि सम्भव हुने बताए । 

अध्यक्ष दाहालले भने, ‘अब सबै नेता–कार्यकर्ताले गाउँबस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ, पार्टीभित्र आत्मसमीक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउनुपर्छ । विगतका कमजोरीको समीक्षा गर्नुपर्ने आवश्यकता छ ।’ 

पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धि, त्यसपछिको खबरदारी अभियान तथा जनसंग्ठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको अध्यक्ष दाहालले बताए । उनले भने, ‘हामीले सरकारमा हुँदा गरेका काम र अहिले सडकबाट उठाएका आवाजकै कारण जनभावना सकारात्मक बनेको छ, अब त्यसलाई सशक्त संगठनमार्फत संस्थागत गर्नु जरुरी छ ।’ 

संगठन निर्माणलाई अबको अभियानको मूलधार मानेर निर्वाचनमा जानुपर्नेमा अध्यक्ष दाहालले जोड दिए । सुदूरपश्चिम राजनीतिक र सांगठनिक हिसाबले माओवादी केन्द्रको सम्भावनायुक्त प्रदेश रहेको उल्लेख गर्दै उनले त्यहाँका नेता तथा कार्यकर्तालाई व्यवस्थित, योजनाबद्ध रुपमा परिचालन गर्नुपर्ने आवश्यकता भएको औँल्याए  ।

सो अवसरमा पार्टीका उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेलले सुदूरपश्चिममा पार्टीको भावी रणनीति, सांगठनिक विस्तार तथा स्थानीय तहसम्मको पहुँच विस्तारबारे स्पष्ट कार्ययोजना प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?