चौतर्फी आलोचनापछि विभागले भन्यो– ‘इम्बोस्ड नम्बर जडान नगरे पनि कारबाही हुन्न’

लोकपथ
2.1k
Shares

काठमाडौं । सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर जडानका लागि ताकेता गरेको विषय आलोचना भएपछि यातायात व्यवस्था विभागले स्पष्टीकरण दिएको छ ।

आगामी असोज १ गतेबाट इम्बोस्ड नम्बर जडान नभएमा सवारी दर्ता, नवीकरण र नामसारी समेत नहुने भन्दै विभागले अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्न भनेको थियो । तर त्यसको सामाजिक सञ्जाल, सञ्चारमाध्यम, यातायातसँग सम्बन्धित विभिन्न संगठनदेखि आम नागरिकबाट समेत आचोचना भएको थियो ।

विभागले आज विज्ञप्ति जारी गर्दै असोज १ गतेदेखि इम्बोस्ड नम्बर जडान नगर्नेलाई कारबाही वा जरिवाना गर्ने हल्ला फैलिएको भन्दै त्यसो नगरीने स्पष्ट पारेको हो ।

‘इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारीसाधनहरुमा क्रमशः जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाही परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा ततकाललाई कुनै किसिमको दण्ड/जरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ,’ विभागका महानिर्देशकले विज्ञप्ति जारी गर्दै भनेका छन् । साथै विभागले आफूलाई अनुकुल पर्ने समयमा इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्न समेत आग्रह गरेको छ ।

विभागले इम्बोस्ड नम्बर प्लेट जडानका लागि विभाग र प्रदेश कार्यालयहरुमा जनशक्ति थप गरिएको समेत जनाएको छ ।

विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नुको औचित्यबारे समेत प्रकाश पारेको छ । विभागले उक्त नम्बर प्लेट जडान गरेपछि जिल्ला, प्रदेश तथा मुलुकमा रहेका सवारीसाधनको एकीन विवरण प्राप्त हुने, कृतिम बौद्धिकतामा आधारित ट्राफिक तथा सडक व्यावस्थापनमा सहयोग पुग्ने, सडक इजाजत सम्बन्धमा पारदर्शी विवरण प्राप्त हुने लगायतको प्रयोगका लागि इम्बोस्ड नम्बर जडान गर्न ताकेता गरिएको समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?