काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले सामाजिक सुरक्षा भत्ता गरिबी रेखा मुनी रहेका व्यक्तिलाई मात्र दिनुपर्ने प्रस्ताव सार्वजनिक गरेका छन् ।
बुधबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले हाल लागू विधि अनुसार सबैलाई भत्ता दिँदा नेपालको आर्थिक अवस्था यसलाई धान्न नसक्ने बताए । उनले उच्च पदस्थ व्यक्ति र उनीहरूको परिवारले भत्ता पाउनुको औचित्यसमेत प्रश्न गरेका छन् ।
मन्त्री साहले भने, ‘नेपालमा २० प्रतिशत मानिस मात्र गरिबी रेखा मुनी छन्। सामाजिक सुरक्षा भत्ता पहिले तिनीहरूलाई दिनुपर्छ। विनोद चौधरीको आमालाई, बुबालाई किन सामाजिक सुरक्षा मेरो आमा, बुबा, श्रीमतीलाई किन ?’
उनले भारतको उदाहरण दिँदै भने, ‘विश्वको तेस्रो ठुलो अर्थतन्त्र भारतले मासिक ५ सय रुपैयाँ सामाजिक भत्ता मात्र दिने गरेको छ। तर नेपालमा राजनीतिक दलहरूले आफ्नो फाइदाको लागि भत्ता बढाउने प्रतिस्पर्धा गर्दै आएका छन् ।’
सामाजिक सुरक्षा भत्ता हालको ४ हजार रुपैयाँको सट्टा ६ हजार रुपैयाँ दिन सकिने उल्लेख गर्दै, ‘तर २० प्रतिशत गरिबी रेखामुनिलाई मात्र दिनुपर्छ,‘उनले भने ।
हाल नेपाल सरकारले ज्येष्ठ नागरिक, असहाय एकल महिला, अपाङ्गता, लोपोन्मुख जाति र बाल पोषण भत्ता जस्ता शीर्षकमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया