काठमाडौं । नेकपा एमालेकी पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी राजनीतिमा सक्रिय हुने अधिकार कसैले खोस्न नसक्ने जिकिर गरेकी छन् ।
आफू ३ दशक भन्दा लामो समय पार्टीमा काम गरेको बताउँदै आफूलाई पुनः सक्रिय राजनीतिमा आउनबाट कसैले रोक्न नसक्ने बताएकी हुन् ।
सोमबार विराटनगर पुगेकी पूर्वराष्ट्रपति भण्डारीले एमाले पंक्तिले अफवाह फैलाए पनि आफूले राष्ट्रपतिको कार्याकाल सकिएसँगै सदस्यता नविकरण गरेको स्पष्ट पारिन् ।
‘३५–३६ वर्षदेखि मैले पार्टीसँग निरन्तर यात्रा गरेकी हुँ, उनले भनिन्, ‘राष्ट्रपतिको कार्यकाल सकिएपछि पनि मैले सदस्यता नवीकरण गरेको छु । यो अधिकार कसैले खोस्न सक्दैन।’
त्यस्तै आफूले एमालेमा गएर गुट नचलाउने समेत प्रतिबद्धता व्यक्त गरेकी छन् । आफू एमालेकै कार्यकर्ता रहेको बताउँदै उनले पार्टीले औपचारिक निर्णय गरेको आफूलाई थाहा नभएको समेत बताइन् ।
‘म नेकपा एमालेकै कार्यकर्ता हुँ, एमालेकै तर्फबाट राष्ट्रपति निर्वाचनमा भाग लिएर निर्वाचित भएकी हुँ । आज पनि म त्यही हुँ। पार्टीले औपचारिक रूपमा के निर्णय गरेको छ, मलाई थाहा छैन, तर मेरो संगठनात्मक पहिचान एमालेकै हो,’ उनले भनिन् ।
त्यस्तै पत्रकारहरुले केही समय अघि भण्डारी निवास भंगालमा कांग्रेस नेता डा. शेखर कोइरालालाई भेटेको विषयमा समेत जिज्ञासा राखेका थिए । भण्डारीले आफूहरु पूरानो साथी रहेको बताउँदै विविध विषयमा छलफल भएको समेत बताइन् । साथै सकारात्मक कुरा बताएको उनको दाबी रहेको छ ।
‘हामी पुराना साथी हौँ, भेटघाट हुनु स्वाभाविक हो । देशका शिक्षा, स्वास्थ्य, सुशासन र रोजगारीका विषयमा नेताहरुबीच छलफल हुनु सकारात्मक कुरा हो,’ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया