काठमाडौं । गत एक वर्षमा विभिन्न अपराधमा संलग्न ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सार्वजनिक कसुर/अभद्र व्यवहारमा २६, चोरी मुद्दामा २२, लागु औषध मुद्दामा २१, ज्यानमार्ने उद्योगमा सात, जबरजस्ती करणीमा पाँच, जबरजस्ती करणी उद्योगमा दुई, सवारी ज्यान मुद्दामा दुई र साइबर क्राईममा एक जना बालक पक्राउ गरी कारबाही गरिएको हो । प्रमुख पुरीका अनुसार पछिल्ला दिनमा विभिन्न किसिमका अपराधमा बालबालिकाको प्रयोग बढ्न थलेको छ ।
विशेषगरी चोरी र लागु औषध मुद्दामा बालबालिकाको प्रयोग बढी हुन थालेको हो । उनले भने, ‘बालबालिकालाई सामान्य पैसा दिएर अपराधमा सहभागी गराउन थालेका छन् ।’ लागु औषध ओसारपोसारमा बालबालिकाको प्रयोग हुँदै आएको छ । सार्वजनिक कसुर/अभद्र व्यवहारसमेत बालबालिकालाई प्रयोग गर्ने गरेको उनले बताए ।
चोरीमा बालबालिकालाई प्रयोग गरी ठूलाले कमाउने गर्दछन् । उनले भने ‘चोरीका मुद्दामा तराईमूलबाट बच्चा लिएर आउने र चोरी गर्न लगाउने गरेको पाइएको छ ।’ यस्ता कतिपय मुद्दामा चोरी गर्न लगाउनेलाई समेत पक्राउ गरी कारबाही गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया