नेपालगञ्जमा गोली प्रहार गरी चार जना लागुऔषध कारोबारी पक्राउ

लोकपथ
406
Shares

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज (शुक्रबार) प्रहरीले लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

प्रारम्भमा दुई जनालाई नियन्त्रणमा लिइए पनि बाँकी दुईजनाले प्रहरीमाथि ढुंगामुढा गरेर भाग्ने प्रयास गर्दा प्रहरीले दुई राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिएका छन् ।

उनीहरूले भने, ‘लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा दुई जनालाई पछ्याएका थियौँ तर त्यहाँ चार जना रहेछन्। दुई जनालाई पक्राउ गरेपछि बाँकी दुईजनाले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि बाध्य भएर गोली चलाइएको हो ।’

पक्राउ पर्नेमा नेपालगञ्ज–५ का २२ वर्षीय अमन साह, २६ वर्षीय भाइजन अन्सारी, भारत बहराइज रुपैडियाका २० वर्षीय अजय कुमार र २० वर्षीय कार्तिक कुमार रहेका छन् । प्रहरीले कार्तिक कुमारको दायाँ खुट्टामा गोली लागेको जानकारी दिएको छ।

यस क्रममा लागुऔषध कारोबारीले प्रहार गरेको इँटा लागेर एक जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?