राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले दिए राजीनामा

लोकपथ
385
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार भएको प्रतिनिधि सभाको बैठकमा सभापति खतिवडाले आफ्नो राजीनामा घोषणा गरेका हुन् ।

उनले संघीय निजामति सेवा विधेयक पारित गर्ने क्रममा कर्मचारी प्रशासनबाट आएको दाउपेच र शक्ति प्रदर्शनको दबाब समिति र आफूले भोग्नुपरेको बताए । कुलिङ अफ पिरियड सम्बन्धी गडबडी छानबिनका लागि गठित विशेष समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहर गरेको थियो ।

खतिवडाले भने, ‘मैले निजामति विधेयक गलत हुन नदिन अन्तिमसम्म प्रयास गरेँ र कुलिङ अफ पिरियड लागू गर्न नेतृत्वदायी भूमिका निभाएँ । तर विधेयकमा देखिएको त्रुटि मेरो वा समितिका सदस्यहरूको कमजोरी हो ।’उनले आफ्नो कमजोरी स्वीकार्दै राजनीतिमा निष्ठाको कमी भएको अवस्थामा आफ्नो नाम इतिहासमा दर्ज गर्न चाहेको पनि बताए ।

उनले भने, ‘राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामति विधेयक पारित गर्दा ठूलो दबाब र शक्ति प्रदर्शन झेल्नुपर्‍यो । संसदीय समिति र सदनले पनि त्यो दबाब सहनुपर्‍यो । समितिका सदस्यहरूले पनि विभिन्न झमेलाहरू खेप्नुपर्‍यो ।

खतिवडाले आफ्नो सभापतित्वमा समितिबाट महत्वपूर्ण विधेयकहरू पारित गर्न सफल भएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?