‘नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउनसके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु लिन सकिन्छ’

लोकपथ
917
Shares

काठमाडौं । निजी मेडिकल र डेन्टल कलेजका कोषाध्यक्ष शान्तराम बतासले नेपालमा १० हजार विदेशी मेडिकल विद्यार्थी भित्र्याउन सकिए वार्षिक एक खर्ब रुपैयाँभन्दा बढीको राजस्व आम्दानी गर्न सकिने दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मेडिकल पर्यटन नेपालको आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउनसक्ने बताए ।

उनका अनुसार हाल नेपालको चिकित्सा पूर्वाधारले ५ हजार विदेशी विद्यार्थीलाई मात्र धान्न सक्ने अवस्था छ । तर यदि डबल सेसन सञ्चालन गरी दुई चरणमा अध्ययन गराउन सकियो भने १० हजारसम्म विद्यार्थी ल्याउन सम्भव छ ।

यसले न केवल मेडिकल कलेजलाई आर्थिक रूपमा सबल बनाउनेछ, तर देशको पर्यटन क्षेत्र र समग्र अर्थतन्त्रलाई समेत ठूलो फाइदा पुग्ने उनको भनाइ छ ।

शान्तरामले भने, ‘विश्वभर डबल सेसन अध्ययन गरिन्छ, नेपालमा पनि सरकारी अस्पतालमा डबल सेसन सञ्चालन गरे आर्थिक र शैक्षिक दुवै पक्ष सबल हुने छ । ५ हजार विद्यार्थीले ५० अर्ब रुपैयाँ, र १० हजारले एक खर्ब रुपैयाँसम्मको राजस्व ल्याउन सक्ने सम्भावना छ ।’

उनले मेडिकल विद्यार्थीका लागि कोटा प्रणाली खोल्न र अनलाइन आवेदन प्रक्रिया शुरु गर्नुपर्ने पनि जोड दिएका छन् ।

नेकपा एमाले सांसद ईश्वरी घर्तीले भने, सरकारले चिकित्सा शिक्षामा कति लगानी गरिरहेको छ र त्यो लगानी प्रभावकारी रुपमा कसरी लागू गरिने भन्नेबारे गम्भीर विचार आवश्यक रहेको बताए । उनले सरकारको भूमिका बढाउनुपर्ने औँल्याए ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुसालले नेपालको आवश्यकतानुसार मेडिकल जनशक्ति उत्पादन गरिनुपर्ने र अनावश्यक रूपमा चिकित्सक विदेश पठाउनुपर्ने नभएको स्पष्ट पारे । उनले बाहिरबाट विद्यार्थी ल्याएर चिकित्सक उत्पादन गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । यसका लागि स्पष्ट नीति बनाएर कोटा प्रणालीमा सुधार गर्नुपर्ने सुझाए ।

अध्यक्ष भुसालले ‘हामीले बंगलादेश, रसिया, फिलिपिन्स जस्ता देशमा किन गएर पढ्नेरु नेपालमै गुणस्तरीय शिक्षाको व्यवस्था छ भने विद्यार्थीलाई नेपालमै अध्ययन गराउनुपर्छ, ‘भन्दै नो अब्जेक्शन लेटर दिएर चिकित्सक बाहिर पठाउने प्रणाली बन्द गर्नुपर्ने बताए ।

उनी भन्छन्, ‘मेडिकल कलेजहरु सशक्त बनाउनु पर्छ, त्यसका लागि विद्यार्थीको सही व्यवस्थापन र नीतिगत सुधार अनिवार्य छ ।’

यसले नेपालको चिकित्सा शिक्षा क्षेत्रमा गुणस्तर वृद्धिसँगै आर्थिक विकास र मेडिकल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?