रास्वपाले नियुक्त गर्‍यो दुई विभागमा प्रमुख, एक उपप्रमुख

लोकपथ
1.1k
Shares

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संगठनलाई सुदृढ बनाउने उद्देश्यले तीन विभागमा प्रमुख तथा उपप्रमुख नियुक्त गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले रिक्त पदहरूमा नयाँ जिम्मेवारी तोकेको हो ।

पार्टीले केन्द्रीय श्रम तथा उपभोक्ता हित विभागको प्रमुखमा काठमाडौंका श्यामबाबु गौतमलाई नियुक्त गरेको छ । गौतम विगतमा पुनर्जागरण पार्टी हुँदै विभिन्न राजनीतिक धारहरूमा क्रियाशील रहँदै आएका थिए । उनी एमाले, माओवादी केन्द्र, तथा बाबुराम भट्टराईको नयाँ शक्तिमा संलग्न भइसकेका छन् । पछिल्लो समय उनले छुट्टै पार्टी खोलेर राजनीतिक यात्रा अघि बढाइरहेका थिए ।

त्यस्तै, केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटालाई जिम्मेवारी दिइएको छ । सापकोटा नवलपुर जिल्लाबाट प्रतिनिधित्व गर्ने सक्रिय राजनीतिक कार्यकर्ता हुन् ।

यसैगरी, श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठलाई नियुक्त गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

पार्टीले विभागीय सशक्तीकरणमार्फत आगामी दिनमा नीति निर्माणदेखि जनसरोकारका विषयमा सक्रिय भूमिका खेल्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?