अहिले थप चर्चामा छ जुम्ला, जुम्लाकी पञ्चकली बुढा र हृदयेन्द्र वीरविक्रम शाह । प्रचुर सम्भावना हुँदाहुँदै पछि परेको कर्णाली प्रदेशअन्तर्गतको जिल्ला जुम्ला, त्यही माटोमा आफ्नो भविष्य खोज्दै गरेकी पञ्चकली अनि कुनै बेला नेपालमा शासन गरेको शाह वंशका एक सदस्य हृदयेन्द्र ।
जुम्ला, पञ्चकली अनि हृदयेन्द्रबिचको भेट र भलाकुसारीले एउटा सम्भावनाको उजागर गरेको छ । साथै विभिन्न आँकलन र अड्कलबाजीहरू भइरहेका छन् । कर्णाली प्रदेश र जुम्लाको सम्भावना उजागर गरेका हृदयेन्द्रले कतै राजतन्त्रका लागि आफ्नो सम्भावनालाई थप बलियो बनाउन त लागेका होइनन् ? भन्ने प्रश्न उठेको छ ।
उमेरले २३ पुगेका नवयुवराजको उपमा पाएका हृदयेन्द्र अहिले अमेरिकामा पढ्दै छन् । उनी गत जेठको पहिलो साता नेपाल आए । हृदयेन्द्र नेपाल यस्तो बेलामा आए कि, राजतन्त्र पुनस्र्थापनाको लागि आवाज मात्रै होइन सडकमा आगो बलिरहेका बेला नेपाल आगमनका कारण उनको चर्चा एकाएक चुलियो । यसअघि पनि उनी आउँथे, जान्थे, घुम्थे सकिन्थ्यो । राजपरिवारका सदस्यहरू बाहिर त्यति घुलमिल नहुने भएका कारण परिवारभित्रै सीमित हुन्थ्यो उनको आउजाउ र घुमघाम ।
नेपालमा राजतन्त्र पुनस्र्थापनाको चर्चा । राजतन्त्र फर्काउन हिँड्नेहरूबिच फाटो । कोही पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउनुपर्छ भन्ने, कोही उनकी बुहारी हिमानी शाहलाई अघि सार्नुपर्छ भन्ने तर्क गरिरहँदा हृदयेन्द्रका बुबा पारस शाह कहिल्यै राजा बन्ने र बनाइने गन्तीमा परेका छैनन् । राजतन्त्रवादीहरूको हानथापलाई मध्यमार्गी पात्र पनि उनै हृदयेन्द्र बन्न पुगे ।
त्यसो त हृदयेन्द्र अहिले मात्रै राजा बनाउनका लागि अघि सारिएका पात्र होइनन्, उही बेला अर्थात् नेपालमा राजतन्त्रको निरन्तरता कि गणतन्त्र स्थापना ? भन्ने बहस चलिरहेका बेला नै अघि सारिएका पात्र हुन् । त्यसबेला राजनीतिक दलहरूले नै भर्खर केही वर्ष भएका हृदयेन्द्रलाई ‘बेबी किङ’ बनाएर जान चाहिरहेका थिए । त्यसबेला खुब चर्चा भए पनि दोस्रोपटक राजा बन्ने सौभाग्य पाएका ज्ञानेन्द्रको इच्छाअनुसार त्यसो हुन सकेन । यानेकी हृदयेन्द्र ‘बेबी किङ’ बन्न पाएनन् । जतिबेला संवैधानिक रूपमा ‘बेबी किङ’ राख्ने प्रस्ताव ज्ञानेन्द्रलाई अपाच्य बन्यो, त्यतिबेला कांग्रेससहित केही मुख्य दल नै ज्ञानेन्द्र बाहेक हृदयेन्द्रलाई ‘बेबी किङ’ मान्न तयार भएका थिए । न दलहरूले भनेजस्तो ज्ञानेन्द्रले माने, न त दलहरूले ज्ञानेन्द्रलाई मनाउनै लागे, अन्ततः राजतन्त्र गयो ।
घुमघामकै क्रममा भेटिएकी पञ्चकलीले गाएको ‘जुम्ला फल्छ धान…’ गीत अहिले थप चर्चामा छ, हृदयेन्द्र जस्तै ।
भलाकुसारीकै क्रममा पञ्चकलीले ‘हाम्रो यो नेपाल समृद्ध कहिले हुन्छ होला ?’ भन्दै एउटा निर्दोष प्रश्न गरिन् । प्रश्न पूर्वनवयुवराज, राजपरिवारको सदस्यलाई मात्र नभएर एक युवालाई थियो ।
राजतन्त्रको अन्त्यपछि आएको गणतन्त्र शिशु हुँदै जवान बनिरहँदा २०६२–०६३ को जनआन्दोलनताका ‘बेबी’ रहेका हृदयेन्द्र जवान बने ।
जुम्ला पुगेपछि हृदयेन्द्रको चर्चा भएको यो मात्रै पहिलो पल भने होइन । २०८२ साल जेठ २५ पछि उनको चर्चा यसैगरी चुलिएको थियो । त्यसबेला गुठिचौर गाउँपालिका वडा नम्बर १ मणिसाँघुमा बन्ने बर्थिङ सेन्टर भवन शिलान्यास भयो । उनी आफैँले भवन शिलान्यासका लागि बेल्चा चलाएका थिए । त्यसबेला आलोचना र प्रशंसा दुवै भयो ।
अहिले पनि उनको आलोचना र प्रशंसा दुवै भइरहेको छ । राजतन्त्रवादीहरूले त प्रशंसा गर्ने नै भए । त्यो भन्दा धेरै ठूलो युवा जमातले उनले जुम्लामा देखाएको शालीनताको प्रशंसा गरेका छन् । अमेरिकामा पढाइ सकेर नेपालमा नै फर्किने चाहना देखाएका हृदयेन्द्रले कतै जुम्लाको सम्भावना उजागर गर्दै त्यसबाटै आफ्नो भविष्यको सम्भावना त खोज्दै छैनन् ? भन्दै विश्लेषणसमेत गरिरहेका छन् ।
गाउँ गाउँ घुम्ने, त्यहाँका जनतासँग भिज्ने र समस्या सुन्ने आफ्ना पुर्खा महेन्द्र र वीरेन्द्रकै रूप उनमा देखिएको भन्दै प्रशंसा भइरहँदा कतिपय गणतन्त्रवादीहरूको आलोचनाको सिकारसमेत उनी भएका छन् ।
आफूलाई धुरन्धर गणतन्त्रवादी दाबी गर्ने दल माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामाले सामाजिक सञ्जालबाट राजतन्त्रप्रति गाली र हृदयेन्द्रप्रति भद्दा टिप्पणीहरू गरेकी छन् । उनले राजदरबारले ‘भोटे कुकुरको छाउरो जसरी पालेर राखेको’ भन्दै टिप्पणी गरेकी छन् । साथै जुम्लालाई हृदयेन्द्रकै पुर्खाले माथि उठ्न नदिएको भन्दै जुम्ला गणतन्त्रले माथि उठाएको दाबी मात्र गरेकी छैनन्, हृदयेन्द्रले जुम्लालाई चिनाउन नपर्ने भन्दै आक्रोश पोखेकी छन् ।
सायद हृदयेन्द्रले यसपालि जुम्लाबारे आफ्नो भ्रमणको १५ मिनेट २३ सेकेन्डको भ्लग सार्वजनिक नगरेको भए उनको घुमघाम आम जनताका लागि गुमनाम हुने थियो । उनले जुम्लाको खोला हेरे, स्याउबारी डुले, किसानसँग भलाकुसारी गरे, युवा उद्यमीसँग गफिए । २०३७ सालमा सक्रिय राजतन्त्र भएका बेला स्थापना भएको कर्णाली प्राविधिक शिक्षालय पुगेर त्यहाँका विद्यार्थीहरूसँग नेपालको सम्भावनाबारे भलाकुसारी गरे ।
घुमघामकै क्रममा भेटिएकी पञ्चकलीले गाएको ‘जुम्ला फल्छ धान…’ गीत अहिले थप चर्चामा छ, हृदयेन्द्र जस्तै ।
भलाकुसारीकै क्रममा पञ्चकलीले ‘हाम्रो यो नेपाल समृद्ध कहिले हुन्छ होला ?’ भन्दै एउटा निर्दोष प्रश्न गरिन् । प्रश्न पूर्वनवयुवराज, राजपरिवारको सदस्यलाई मात्र नभएर एक युवालाई थियो । हृदयेन्द्रले पनि निर्दोष नै तरिकाले उत्तर फर्काए, ‘मान्छेहरूले आफ्नो काम गर्यो भने, सबै काम राम्रोसँग चल्यो भने अभियस्ली पनि राम्रो भइहाल्छ नि !’ उनले आफूहरूजस्ता युवाहरू पनि लाग्नुपर्यो, युवाहरूले आँट गरेमा देश समृद्ध बन्ने सपना सुनाए ।
राजतन्त्रका युवराज र नवयुवराजको मात्र होइन, गणतन्त्रकालका युवराज र नवयुवराजका पनि चर्चा बेलाबेला चल्ने गर्दछ । गणतन्त्रकालका नवयुवराजहरू कोही सुन तस्करी, कोही मानव तस्करी, कोही बहुविवाह, कोही ठगी र यी यस्तै प्रकरणमा फसेका छन् । फेरि सबै नराम्रा मात्रै छन् भन्ने खोजिएको होइन र हृदयेन्द्रले देखाएको शालीनताका कारण सबै युवराज, नवयुवराजहरू उस्तै शालीन छन् भन्ने पनि होइन ।
तर, व्यवस्था नै फेरेको कुरालाई राजनीतिक ब्याज खाने भाँडो बनाएका गणतन्त्रका महाराज र नवयुवराज, युवराज जस्ता बनेकाहरूलाई उही पञ्चकलीको ‘हाम्रो मुलुक कहिले समृद्ध भन्छ ?’ भन्ने प्रश्न सधैँ टड्कारो बनेर उभिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया