काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबै दलका नेतासँग संवाद गर्न सुझाव दिएका छन् ।
विराटनगर–४ मा आयोजित एक कार्यक्रममा बोल्दै उनले देउवालाई घरमै चिया खुवाएर देशका समस्या बारे छलफल गर्न आग्रह गरे ।
‘देउवाजी सबैभन्दा वरिष्ठ नेता हो । सबै दलका नेतालाई घरमा बोलाएर देश विकासको कुरा गर्नुहोस्,‘ कोइरालाले भने, ‘तर अहिले सत्ता गठबन्धनबाहेकका नेतासँग भेटघाट नगर्नेजस्तो व्यवहार देखिन्छ । यस्तो हुनुहुँदैन।’
शेखरले आफू सधैँ सबै नेतासँग संवादमा रहने बताए । उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड र विपक्षी नेता ओलीसँग अघिल्लो दिनहरूमा भेटघाट गरेको उदाहरण दिँदै भने, ‘म विपक्षी हुँदा पनि ओलीजीसँग भेट्थेँ ।’
कोइरालाले युवाको सहभागिता बिना कांग्रेस बलियो नहुने बताए । ‘कांग्रेस कमजोर भयो भने लोकतन्त्र पनि कमजोर हुन्छ, ‘उनले भने, ‘लोकतन्त्र स्थिर राख्न युवालाई कांग्रेसप्रति आकर्षित गर्नुपर्छ ।’
उनले पार्टीभित्रको आपसी प्रतिस्पर्धाको इगो (घमण्ड) ले चुनावमा कांग्रेस स्वयंलाई हराउने अवस्था आएको बताए । ‘कांग्रेसले कांग्रेसलाई भोट नदिएकाले बलियो वडादेखि संसदीय निर्वाचन क्षेत्रसम्म हार भएको देखिन्छ, ‘कोइरालाले भने ।
उनले पार्टीभित्र प्रतिस्पर्धा स्वाभाविक भए पनि अन्य दलहरूसँगको चुनावी प्रतिस्पर्धामा कांग्रेस एकजुट हुनुपर्ने धारणा राखे ।
‘पार्टीको आन्तरिक रिस स्थानीय, प्रदेश वा संघको चुनावमा फेर्नु हुँदैन,‘ उनले भने, ‘अहिले अन्य पार्टी जितेका ठाउँमा कांग्रेसका कार्यकर्ताले ह्युमिलिएसन (अपमान) महसुस गरिरहेका छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया