काठमाडौं । ‘मन्त्रिपरिषद् हेरफेर’ एजेन्डासहित प्रधानमन्त्री केपी शर्मा ओली र सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच अहिले केही बेरमा बैठक हुँदै छ ।
प्रधानमन्त्रीको प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार दुई दलका शीर्ष नेताहरूको बैठक अहिले ११ बजे बालुवाटारमा बस्ने तय भएको छ । बैठकमा एमालेबाट उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् । कांग्रेसबाट भने उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी हुनेछन् ।
प्रधानमन्त्रीका प्रेसविज्ञ बजगाईंका अनुसार, मन्त्रिपरिषद् हेरफेरलाई लिएर बैठक बस्न लागेको हो ।
एमालेका एक नेताका अनुसार, प्रधानमन्त्री ओली एमालेबाट नियुक्त केही मन्त्रीलाई बिदा गर्ने पक्षमा छन् । तर नेपाली कांग्रेस आफ्ना मन्त्रीहरू फेरबदल गर्न इच्छुक देखिएको छैन । तर, प्रधानमन्त्री ओलीले सभापति देउवालाई मनाउने प्रयास गरिरहेका छन् ।
‘कार्यसम्पादन कमजोर भएका, विवादमा समेत आएका मन्त्रीहरूलाई हटाएर नयाँलाई जिम्मेवारी दिऔँ भन्ने प्रधानमन्त्रीको तयारी छ । त्यही भएर उहाँले सत्ता साझेदार नेपाली कांग्रेससँग छलफल अगाडि बढाउनुभएको छ, कांग्रेसको भने यसमा रुचि देखिएको छैन,’ ती नेताले भने ।
एमालेका ती नेताका अनुसार, कांग्रेससँगको छलफलपछि प्रधानमन्त्री ओलीले आजै निर्णय लिने सम्भावना रहेको छ । कांग्रेसले नमानेको खण्डमा एमालेका मात्रै मन्त्री फेरिने सम्भावना रहेको ती नेता बताउँछन् ।
‘प्रधानमन्त्री आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा हुनुहुन्छ । कांग्रेससँगको छलफलपछि निर्णय लिनुहोला,’ ती नेताले भने ।
रक्षामन्त्री मानवीर राई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी फेरिने सम्भावना रहेको स्रोतको भनाइ छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि ‘रेड जोन’ मा छन् ।
मौजुदा मन्त्रीपरिषदमा एमालेबाट प्रधानमन्त्रीसहित ९ जना मन्त्री सहभागी छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त केही समयअघि मात्रै मन्त्री बनेकाले उनीहरूलाई निरन्तरता दिने पक्षमा छन् ।
न्यौपाने असार ३१ गते मन्त्री भएकी हुन् । एमाले सांसद राजकुमार गुप्ताले घूसकाण्डमा मुछिएपछि मन्त्रीबाट राजीनामा दिएका थिए । रिक्त पदमा न्यौपाने मन्त्री नियुक्त भएकी हुन् ।
पन्त गत वैशाख १० गते मन्त्री नियुक्त भएका थिए । गत वैशाख ८ गते एमाले सांसद विद्या भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएपछि पन्त मन्त्री भएका थिए ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ फेरिने सूचीमा छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया