‘अख्तियार प्रमुख प्रेमकुमार राईमाथि महाअभियोग लगाऔँ’

लोकपथ
2.9k
Shares

काठमाडौं । संघीय संसदको उपल्लो सदन यानेकी राष्ट्रिय सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाअभियोग लगाउनुपर्ने विषयमा कुरा उठेको छ ।

नेपाली कांग्रेसकी सांसद कमला पन्तले राईमाथि महाअभियोग लगाउन माग गरेकी हुन् ।

देशमा सुशासनको अभाव भइरहेका बेला अख्तियारकै प्रमुखमाथि नै प्रश्न उठेको टिप्पणी गर्दै उनले कि अनुसन्धान नभए महाअभियोग लगाउन माग गरेकी हुन् ।

उनले दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय प्रक्रियामा संलग्न आफ्ना प्रमुख आयुक्त राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएपछि उनीमाथि महाअभियोग लगाउनुपर्ने विषय उठाएकी हुन् ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त हुनुहुन्छ प्रेमकुमार राई । मलाई व्यक्तिगत रुपमा केही भन्नु छैन । उहाँको सवालमा प्रश्न उठेको छ, विशेष अदालतले प्रश्न उठाएको छ । निर्णय गर्दाका बखत रहेका अन्य सदस्यहरुलाई मुद्दा अभियोजन गरिएको तर अध्यक्ष राईमाथि अभियोजन नगरी चयनमुखी दृष्टिकोण अपनाइएको प्रति आपत्ति जनाएको छ विशेष अदालतले । कि प्रमुख आयुक्त आफैँ बोल्नुपर्यो कि राजीनामा दिएर ममाथि पनि अनुसन्धान होस् भन्नुपर्यो व्यक्तिले आफैँले । होइन भने कि सरकार बोल्नुपर्यो । उ आफू पनि बोल्न अनि सरकार पनि बोल्दैन । कोही नबोलेपछि व्यवस्थापिका संसद त बोल्नुपर्यो,’ उनले भनिन्, ‘अब महाअभियोग लगाउनुपर्यो, हामीले महाअभियोग लगाएका संस्कृति पनि छन् । संविधानको धारा १०१ मा महाअभियोगको पनि व्यवस्था छ । हामी बोल्ने कि नबोल्ने ? केही गर्ने कि नगर्ने ? कि यस्तै छोड्ने ? सरकार बोल्ने कि व्यक्ति बोल्ने ?

उनले राज्यका प्रमुख अंगहरूप्रति जनविश्वास लगातार घटिरहेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले राजनीतिक दलहरूबिचको पारस्परिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबिच समेत विश्वासको संकट बढिरहेको उल्लेख गर्दै यसप्रति सरकार गम्भीर बन्न जरुरी रहेको बताइन् । त्यस्तै सांसद पन्तले सामान्य काम सम्पन्न गर्नको लागि समेत कर्मचारीहरुले टेबुलमुनिबाट कारोबार गर्ने गरेको समेत आरोप लगाइन् ।

उनले भनिन्, ‘अहिले हाम्रो देशको प्रमुख समस्या सुशासन हो । यसले सदाचारिताको संस्कृतिलाई मार्दै गयो । र भ्रष्टाचार तथा अनियमिततालाई प्रोत्साहन गर्दै गएको छ । त्यसैले अहिलेको समस्याप्रति म केही ध्यानाकर्षण गराउन चाहन्छु । राज्यका प्रमुख अंगहरुप्रतिको विश्वसनीयता दिनप्रतिदिन खस्ँिकदै गएको छ । एउटा पार्टीले अर्को पार्टीप्रति र एउटा व्यक्तिले अर्को व्यक्तिप्रतिको संस्थागत विश्वसनीयता पनि घट्दै गएको छ । सेवा प्रदायक र सेवाग्राहीको बीचमा पनि विश्वसनीयता छैन । अविश्वास बढेको छ । सेवाग्राहीले सेवा सहज ढंगले प्राप्त गरेको अवस्था छैन । र टेबुलमुनिबाट कारोबार हुन्छ रे भन्ने पनि सुन्नमा आएको छ । यो एउटा गम्भीर समस्या हो । ’

सांसद पन्तले घुस प्रकरणमा जोडिएका मन्त्रीहरु समेत खुलेआम हिँडिरहेको भन्दै मन्त्रीपरिषद्ले बोल्ने कि नबोल्ने भन्दै प्रश्न गरिन् ।

यो पनि…

वाइड बडी विमान खरिद प्रकरणको पूर्णपाठ आएसँगै नैतिक संकटमा अख्तियार प्रमुख राई

अख्तियार प्रमुख राईविरुद्ध अख्तियारमै उजुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?