काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले मधेसको खानेपानी तथा सिंचाई समस्या कागजी घोषणामार्फत समाधान गर्न नसकिने भन्दै सरकारलाई तीव्र आलोचना गरेका छन् ।
आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद सुवेदीले सरकारमाथि जनअपेक्षा अनुसार सेवा दिन असफल भएको आरोप लगाए । उनले मधेस क्षेत्रको सुख्खा समस्यालाई लिएर सरकारले प्याकेजसहितको ठोस योजना ल्याउनुपर्नेमा जोड दिए ।
‘मधेसका नागरिकलाई खानेपानी र सिँचाइका लागि पानी उपलब्ध गराउने कागजी घोषणाले मात्रै सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन, ‘उनले भने, ‘सरकारले ठोस राहत प्याकेजको व्यवस्था गर्न सम्माननीय अध्यक्षमार्फत नेपाल सरकारलाई आग्रह गर्दछु ।’
सुवेदीले एक वर्षभित्र जनताको पक्षमा उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको भन्दै सरकारले घोषणा मात्र गरेको तर कार्यान्वयनमा चुकेको टिप्पणी गरे । उनले सरकार गठनको बेला गरिएको सात बुँदे सहमति समेत कार्यान्वयन नभएको र अब कार्यान्वयन हुने सम्भावना पनि नरहेको बताए ।
प्रधानमन्त्रीप्रति प्रश्न गर्दै उनले भने, ‘तपाईँ जस्तो दुई तिहाइको प्रधानमन्त्रीले रोजगारीको अवसर सिर्जना गरेर गरिबी न्यूनीकरण गरेको खोई ?’ उनले सरकारलाई प्रश्न गरे, ‘सक्रिय जनशक्ति पलायन हुनबाट रोक्न किन सक्नुभएन ?’
सांसद सुवेदीले मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि र रोजगारी सिर्जनामा सरकार गम्भीर नभएको आरोप लगाए । उनले जनताले अपेक्षा गरेका निःशुल्क औषधोपचार, दलाल मुक्त समाज, रोजगार तथा अर्थतन्त्रको सुधार जस्ता मागमा सरकार उदासीन रहेको टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया