काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत् उपभोक्ता महासंघलाई अबको आवश्यकता र युगको मागअनुसार ठुला जलविद्युत् आयोजना सञ्चालनतर्फ अग्रसर हुन आग्रह गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित सामुदायिक विद्युत् उपभोक्ता महासंघको २१औँ स्थापना दिवसका अवसरमा शुभकामना दिँदै मन्त्री खड्काले देशभरका करिब तीन सयभन्दा बढी सामुदायिक विद्युत् संस्थाहरूको समन्वयमा ठूलो परियोजना सञ्चालन गर्न सकिने सम्भावनाबारे औँल्याए ।
‘यदि साँच्चिकै हामीले ऐक्यबद्धता जनाएर महासंघ बनाएका हौँ भने अब त्यसलाई शक्तिमा परिणत गर्दै ठुला आयोजनामा लगानी गर्नुपर्छ,’मन्त्री खड्काले भने, ‘पुरानै परम्परागत सोचमा अल्झिरहनु हुँदैन, अब नयाँ खोजीमा लाग्ने बेला हो ।’
मन्त्री खड्काले अहिले विद्युत् पहुँच करिब शतप्रतिशत जनसङ्ख्यामा पुगेको भए पनि गुणस्तरीय सेवा आवश्यक रहेको बताए । २४ सै घण्टा विश्वसनीय विद्युत् आपूर्ति सुनिश्चित गर्नु सरकारको प्रमुख लक्ष्य भएको उल्लेख गर्दै उनले भने, ‘हामी आफैँले चाहिने विद्युत् उत्पादन गरेर खपत गर्ने, बाँकी विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सामुदायिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनेछ।
सामुदायिक विद्युत् क्षेत्रमा हाल देखिएको लगानीको संरचना (८०ः२०) को पुनरावलोकन गर्दै उनले रोजगारी सिर्जना, सेवा विस्तार तथा गुणस्तर वृद्धिमा सामुदायिक संस्थाहरूको योगदान उल्लेखनीय भएको बताए।
‘यति धेरै संस्था आबद्ध भइसकेपछि संयुक्त रूपमा ठुला आयोजनामा हात हाल्न किन पछि हट्ने’ भन्ने मन्त्री खड्काको प्रश्न थियो । उनले महासंघलाई नयाँ सम्भावनाको खोजी गर्न, अध्ययन अघि बढाउन र देशको आवश्यकता अनुसार आफूलाई रूपान्तरण गर्न पनि सुझाव दिए।
मन्त्री खड्काले सामूहिक लगानीको माध्यमबाट मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिने स्पष्ट गर्दै महासंघलाई पुरानै शैलीमा नअल्झिन आग्रह गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया