काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयकलाई संसदीय समितिमा थन्क्याएर राखिएकोप्रति गम्भीर आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद थानीले राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिले २०७९ पुस ४ गते नै पारित गरेर बुझाएको विधेयक अझैसम्म मुल समितिमा छलफलमा नलिइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले सङ्गै प्रस्तुत गरिएको भ्रष्टाचारसम्बन्धी विधेयक पारित भइसकेको अवस्थामा अख्तियारसम्बन्धी विधेयक रोकिएको कारण स्पष्ट पार्न सरकारसँग माग गरे ।
‘मुलुकमा ठूला ठूला भ्रष्टाचारहरू नीतिगत निर्णयका नाममा भइरहेका छन्,‘ थानीले भने, ‘अख्तियारको सर्वेक्षण, दाबी, र ऐनले समेत नीतिगत निर्णयको व्याख्या गरिदिन बारम्बार अनुरोध गरेको पृष्ठभूमिमा, यदि त्यही कारणले विधेयक रोकिने हो भने यो मुलुकको हितमा कदापि हुँदैन ।’
थानीले सरकारलाई छलफल अगाडि बढाउन निर्देशन (रुलिङ) दिन सभामुखसमक्ष आग्रह गरेका छन् । ‘विधेयकमाथि छलफल गराउन सभामुखको ध्यानाकर्षण गराउँछु, ‘उनले भने ।
हाल उक्त विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया