यूएस–बंगला दुर्घटना : नेपालको इतिहासकै सर्वाधिक ठुलो क्षतिपूर्तिको फैसला

पीडित परिवारले लत्त्याएका थिए कम्पनीको ५० हजार डलरको अफर

काठमाडौं । काठमाडौं जिल्ला अदालतले दुर्घटनाका सम्बन्धमा परेको मुद्दामा इतिहासकै सबैभन्दा ठुलो क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । यूएस बंगला विमान दुर्घटनाका सम्बन्धमा परेको मुद्दामा नेपालको अदालती इतिहासकै सबैभन्दा ठुलो फैसला सुनाएको हो ।

२०७६ साउन १५ गते काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्षतिपूर्तिको माग दाबी सम्बन्धी मुद्दामा इतिहासकै सबैभन्दा ठुलो क्षतिपूर्ति भराएको हो । दुर्घटनाका सम्बन्धमा नेपालको अदालतले वारसा सम्झौता तथा नेपालको दुष्कीर्ति सम्बन्धी कानुन अनुसार पीडितको परिवारलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

गत असार ३१ गतेदेखि हेर्दाहेर्दैमा रहेको यूएस बंगला विमान दुर्घटनामा परी मृत्यु तथा घाइते भएकाहरूलाई क्षतिपूर्ति भराउने सम्बन्धी मुद्दामा साउन ४ गते फैसला सुनाइएको थियो । नेपालबाट कुल १७ जनाको परिवारबाट दायर गरिएको उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले वायुसेवा सञ्चालक कम्पनी यूएस बंगलाबाट कुल ३७ करोड ६६ लाख ४७ हजार ५४६ रुपैयाँ ९६ पैसा क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले सुनाएका फैसलामा वायुसेवा कम्पनीका पाइलट तथा कोपाइलटको लापरबाहीकै कारण विमान दुर्घटनामा परेको र यसको जिम्मेवार वायुसेवा सञ्चालक कम्पनी अर्थात् यूएस बंगला जिम्मेवार रहेको ठहर गरिएको छ । साथै वारसा सम्झौताका आधारमा यो दुर्घटना प्राविधिक कमजोरीका कारण नभई मानवीय कमजोरीका कारण भएको ठहर गर्दै कम्पनीले असीमित दायित्व अन्तरगत क्षतिपूर्ति भराउनुपर्ने फैसला सुनाएको हो ।

काठमाडौं जिल्ला अदालतले सुनाएको फैसलामा क्षतिपूर्तिको गणना गर्दा मृत्यु वा घाइते भएका व्यक्तिको उमेर, शैक्षिक योग्यता, रोजगारीमा रहेको भए हालको तलबमान, रोजगारीमा नभएको भए पनि भविष्यमा कमाउन सक्ने रकम, आश्रित परिवार आदि सबैको गणना गरी क्षतिपूर्ति भराउने फैसला सुनाइएको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार १६ जना मृतकको परिवार तथा एक घाइते समिरा व्यञ्जनकारलाई उनीहरूको उमेर, शैक्षिक योग्यता, हालको तलबमान आदि सबै हिसाब गरेर अधिकतम ३ करोड ६७ लाख रुपैयाँसम्मको क्षतिपूर्ति भराउने फैसला सुनाइएको हो ।

सूचना अधिकारी श्रेष्ठका अनुसार काठमाडौं जिल्ला अदालतले फैसला गर्दा वारसा सम्झौता र दुष्कृतिको कानुन अनुसार क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । श्रेष्ठले लोकपथसँग भने, ‘मलाई लाग्छ नेपालको अदालती इतिहासमै यो प्रकृतिको क्षतिपूर्तिको फैसला पहिलो हो र यसले आगामी दिनमा हक दैया लगायतका विषयमा सहजीकरण गरिदिएको छ ।’
दुर्घटनाको ८ वर्ष र मुद्दा दायर भएको ६ वर्षपछि अदालतबाट वायुसेवा कम्पनीको असीमित दायित्व अन्तरगत पर्ने लापरबाहीको कारण दुर्घटना भएको कारणले यो क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाइएपछि पीडित परिवारले बल्ल आंशिक राहतको स्वास फेरेका छन् ।

पीडित परिवारले अस्वीकार गरेका थिए ५० हजार डलरको क्षतिपूर्तिको अफर
त्यसो त यो मुद्दा दायर हुनुभन्दा अगाडि पनि बंगलादेशको यूएस बंगला वायुसेवा कम्पनी र मृतकका परिवार तथा घाइतेसँग क्षतिपूर्तिको सम्बन्धमा छलफल भएको थियो । नेगोसएसनका क्रममा युएस बंगला वायुसेवा कम्पनीले ५० हजार डलरसम्म क्षतिपूर्ति दिने गरी नेगोसिएसन गरेको थियो । तर घाइते तथा मृतकका परिवारले उक्त अफर अस्वीकार गर्दै मुद्दा दायर गरेका थिए ।

यस मुद्दाको उठान गर्ने तथा फिराद पत्र तयार पार्नेदेखि लिएर बहसमा लिड लयरको भूमिका खेलेका अधिवक्ता अमृत खरेलका अनुसार यूएस बंगला वायुसेवा कम्पनीले प्रारम्भिक छलफलमा ५० हजार अमेरिकी डलरको प्रस्ताव गरेका थिए । तर कम्पनीले आफ्नो गल्ती स्वीकार गरी क्षतिपूर्ति दिन लागेको नभई निगाहले दिन खोजेको जस्तो गरेपछि पीडितका परिवारले क्षतिपूर्ति अस्वीकार गर्दै अदालती प्रक्रियामा जान चाहेका थिए । त्यसै अनुसार आफूले लामो अध्ययन गरी क्षेत्राधिकार, अन्तर्राष्ट्रिय अभ्यास, नेपालले हस्ताक्षर गरेको वारसा सम्झौता तथा नेपालकै दुष्कृतिसम्बन्धी कानुनलाई आधार लिई फिराद दर्ता गराउन सफल भएको खरेलले बताए ।

अधिवक्ता अमृत खरेल/लोकपथ

काठमाडौं जिल्ला अदालतले साउन ४ गते सुनाएको फैसलामा वारसा सम्झौता अनुसार नै क्षतिपूर्ति भराउने गरी फैसला सुनाएको हो । यद्यपि मृतकका परिवार तथा घाइतेले भने वारसा सम्झौता मोन्ट्रियल सम्झौता र ओग्डेन टेबल्सका आधारमा क्षतिको गणना गरी क्षतिपूर्ति भराउन माग गरेका थिए । अदालतले भने दुर्घटना भएको मिति अर्थात् मार्च १२, २०१८ मा मोन्ट्रियल सम्झौतामा नेपालले हस्ताक्षर नगरेको र २३ अगस्ट, २०१८ मा मात्रै उक्त सम्झौतामा हस्ताक्षर भएको कारण मोन्ट्रियल सम्झौता अनुसार क्षतिपूर्ति प्रदान गर्न अस्वीकार गरेको हो ।

अदालतले आफ्नो फैसलामा विमानका पाइलट क्याप्टेन अविद सुल्तान मानसिक तनावमा रहेको, पर्याप्त समय नसुतेको वा आराम नगरेको, यान्त्रिक त्रुटि नदेखिएको र ककपिटमै चुरोट पिउने लगायतका कार्य गरेको तथा पाइलट र को–पाइलटबिच गैर व्यावसायिक कुराकानी भएको लगायतका तथ्यहरू छानबिनबाट समेत देखिएपछि त्यसलाई लापरबाहीको भएको मानी गल्ती करार गरेको हो । यो गल्ती अदालतले मात्रै नभई विभिन्न छानबिनबाट समेत चालक दलका सदस्यको कमजोरी रहेको औँल्याएबाट हेलचेक्राई वा लापरबाहीका कारण यात्रुको ज्यान गएकाले यो वायुसेवा कम्पनीको असीमित दायित्वभित्र पर्ने ठहर गरेको हो ।

वारसा सम्झौता वा महासन्धिमा कुनै वायुसेवा कम्पनी वा तिनका कर्मचारी वा चालक दलको कमजोरीको कारण कसैको ज्यान गएमा भिकारियल लियाबिलिटी अर्थात् अप्रत्यक्ष जिम्मेवारीमा पर्ने उल्लेख भएकाले यो घटनामा पनि वायुसेवा कम्पनी युएस बंगला जबाफदेही हुनुपर्ने भनिएको छ । कम्पनीका कुनै कर्मचारीले कम्पनीको काम गर्दै गर्दा गल्तीका कारण हुने क्षतिको दायित्व स्वयं कम्पनीले बेहोर्नुपर्ने भन्ने नीति अनुसार र वारसा महासन्धिको धारा २५ अनुसार असीमित दायित्वमा पर्ने भएकाले त्यही आधारमा मृतकका परिवार तथा घाइतेलाई ठुलो रकमको क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

जिल्ला अदालतले सुनाएको फैसलामा विभिन्न १७ जनालाई ३७ करोड ६६ लाख रुपैयाँ क्षतिपूर्ति भराउने कुरा उल्लेख गरिएको छ । क्षतिपूर्तिका लागि क्षतिपूर्ति रकमको गणना गर्दा पढाइमा लागेको खर्च, आश्रितले निजको मृत्युबाट बेहोर्नुपरेको नोक्सानी, मुद्दाको खर्च तथा परामर्श शुल्क र गैर आर्थिक क्षतिमा मृतकबाट भविष्यमा हुनसक्ने अपेक्षित आम्दानीको गणना गरिएको छ । अदालतको फैसलामा मृतकका परिवारका आर्थिक, भौतिक, मानवीय र भावनात्मक क्षतिको समेत मूल्याङ्कन गरिएको छ ।
अदालतले फैसला सुनाउँदा नेपालकै कानुनलाई समेत आधार लिई क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । अदालतले मुलुकी देवानी संहिताको दफा ६७२ को १ र दुई अनुसार दुष्कृतिको कानुन अनुसार घटना दुष्कृतिजन्य कारणबाट भएको कारण वायुसेवा कम्पनी जबाफदेही हुनुपर्ने समेत ठहर गरिएको छ ।

यही आधारमा मुद्दामा गएका १६ जना मृतकका परिवार र एक जना घाइते समिरा व्यञ्जनकारलाई क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

जिल्ला अदालतले सुनाएको फैसलामा कुन मृतकका परिवारलाई कति क्षतिपूर्ति भराउने भनेर स्पष्ट किटान गरेको छ भने घाइतेको हकमा समेत कति क्षतिपूर्ति भराउने उल्लेख गरेको छ । मृतक तथा घाइतेको उमेर, शैक्षिक योग्यता, हालको तलबमान, भविष्यमा कमाउन सक्ने रकम आदि सबैलाई जोडेर क्षतिपूर्ति निर्धारण गरिएको हो । अदालतले कुन मृतकका परिवारलाई कति क्षतिपूर्ति र घाइतेलाई कति क्षतिपूर्ति दिने भनेर गरेको फैसला यस्तो छ ।

क्र.सं मुद्दा नं. वादी मृतक / घाईते पेसा / व्यवसाय / अध्ययन जम्मा क्षतिपूर्ति रकम (ने.रु.)
०७६-CP-०३४२ श्यामकुमार महर्जनसमेत संजय महर्जन MBBS अध्ययनरत २,३४,८७,२६३.५०
०७६-CP-०३४३ राजकुमार महर्जनसमेत मिली महर्जन MBBS अध्ययनरत २,३४,८७,२६३.५०
०७६-CP-०३४४ दिपक महर्जनसमेत निगा महर्जन MBBS अध्ययनरत २,३४,८७,२६३.५०
०७६-CP-०३४५ यशोदा श्रेष्ठसमेत एन्जिला श्रेष्ठ MBBS अध्ययनरत २,३४,८७,२६३.५०
०७६-CP-०३४६ राजभाई शाक्यसमेत आसना श्रेष्ठ MBBS अध्ययनरत २,३४,८७,२६३.५०
०७६-CP-०३४७ लक्ष्मण झा मैथिल श्रेया झा MBBS अध्ययनरत २,३४,८७,२६३.५०
०७६-CP-०३४८ मनोज धामीसमेत प्रिन्सी धामी MBBS अध्ययनरत २,३४,८७,२६३.५०
०७६-CP-४८३३ थमनबहादुर पाण्डेसमेत प्रसान्न पाण्डे हिमालयन एअरलाइन्स सहायक अफिसर १,४७,४५,५५६.९०
०७६-CP-४८३४ उर्मिला प्रधानसमेत श्वेता थापा MBBS अध्ययनरत २,४७,३२,८५६.८०
१० ०७६-CP-४८३५ प्रमोद बुढाथोकीसमेत ज्ञानी कुमारी नर्स ६२,४४,८६४.१६
११ ०७६-CP-४८३६ दामोदर पौडेलसमेत सञ्जय पौडेल MBBS अध्ययनरत २,४७,३२,८५६.८०
१२ ०७६-CP-४८३७ चित्रबहादुर लोहनीसमेत पुर्णिमा लोहनी MBBS अध्ययनरत २,४७,३२,८५६.८०
१३ ०७६-CP-४८३८ समिरा व्यञ्जनकार समिरा व्यञ्जनकार (घाईते) MBBS अध्ययनरत ६,१०५,३७६.५०
१४ ०७६-CP-४८३९ गम्भीरध्वज थापासमेत डा. बालकृष्ण थापा वरिष्ठ न्यूरोसर्जन ३,६७,४३,७६३.१०
१५ ०७६-CP-४८४० गंगाकुमारी बराल एन्जिला बराल MBBS अध्ययनरत २,४७,३२,८५६.८०
१६ ०७६-CP-४८४१ कमला घिमिरेसमेत चारु बराल MBBS अध्ययनरत २,४७,३२,८५६.८०
१७ ०७६-CP-४८४२ रजनी श्रेष्ठसमेत सरुना श्रेष्ठ MBBS अध्ययनरत २,४७,३२,८५६.८०
जम्मा ३७,६६,४७,५४५.९६

बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस बंगला एयरको विमान २०७४ साल फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा जहाजमा सवारमध्ये ५१ जनाको मृत्यु भएको थियो ।

दुर्घटनापछि भएको विभिन्न छानबिनले विमानका पाइलट अविद सुल्तानको लापरबाही र कमजोरीका कारण विमान दुर्घटना भएको तथ्य सार्वजनिक भएको थियो । दुर्घटनाको कारकमा पाइलट सुल्तान मानसिक तनावमा रहेको, को–पाइलटलाई इम्प्रेस गर्न खोज्दा दुर्घटना भएको, ककपिटभित्रै चुरोट पिएको लगायतका विषय पाइएको थियो ।

दुर्घटनाको १७ महिनापछि दुर्घटनामा मृत्यु भएकाको परिवार र घाइतेको तर्फबाट क्षतिपूर्तिको माग दाबी लिई काठमाडौं जिल्ला अदालतमा फिराद दर्ता भएको थियो । मुद्दा दर्ता भएको करिब ६ वर्षपछि काठमाडौं जिल्ला अदालतले साउन ४ गते आइतबार फैसला सुनाउँदै मृतकका परिवार र घाइतेलाई जीवनभर कमाउन सक्ने रकम बराबर क्षतिपूर्ति भराउने गरी फैसला सुनाएको हो ।

फैसलाको पूर्ण पाठ आएपछि मात्रै क्षतिपूर्ति कसरी भराउने र कुन विधिबाट कसरी गणना गरियो भनेर स्पष्ट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?