दिव्य पशुपतिनाथ अभियान सुरु, वृक्षारोपणबाट शुभारम्भ

लोकपथ
168
Shares

काठमाडौं । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर परिसरमा ‘दिव्य पशुपतिनाथ अभियान’ सुरु गरिएको छ । 

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले वृक्षारोपण गर्दै अभियानको औपचारिक सुरुवात गरेका हुन् ।

यस अभियानलाई अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल (क्रिएसन) को नेतृत्वमा सञ्चालित ‘क्लाइमेट स्मार्ट सिटीज’ परियोजनाको एक नविनतम पहलको रूपमा मैनादेवी फाउन्डेसनले कार्यान्वयन गरिरहेको छ ।

उद्घाटन कार्यक्रममा मन्त्री पाण्डेसहित पशुपति क्षेत्र विकास कोषका सचिव सुवास चन्द्र जोशी, डीएसपी सुकदेव खनाल, काठमाडौं महानगर प्रतिनिधि, क्रिएसन र मैनादेवी फाउन्डेसनका सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा २ सयभन्दा बढी व्यक्तिको सहभागिता रह्यो ।

क्रिएसनकी महासचिव तथा क्लाइमेट स्मार्ट सिटीज परियोजनाकी टिम लिडर सुजाता कोइरालाले आफ्नो मन्तव्यमा प्लास्टिक फोहोर व्यवस्थापनको चुनौती र त्यसको दीगो समाधानमा जनचेतनाको भूमिकालाई विशेष जोड दिइन् ।

उनले क्लाइमेट स्मार्ट सिटीज परियोजनामार्फत काठमाडौं र भरतपुरमा फोहोर व्यवस्थापन र वातावरणीय सचेतनालाई सशक्त बनाउने योजना रहेको जानकारी दिँदै भनिन्, ‘पशुपतिनाथ क्षेत्रमा जस्तै वातावरणमैत्री अभियान भरतपुरमा पनि प्रारम्भ गरिनेछ ।’

क्लाइमेट स्मार्ट सिटीज परियोजना अन्तर्गत सञ्चालित ‘दिव्य पशुपतिनाथ अभियान’ वर्षभरि सञ्चालन हुने अभियान हो । जसमा फोहोर व्यवस्थापन, प्लास्टिकको प्रयोग न्यूनिकरण, पुनः प्रयोग र पुनः चक्रणलाई प्रवद्र्धन गर्ने लगायतका वातावरणमैत्री गतिविधिहरू समावेश छन् । यस अभियानमार्फत धार्मिक स्थलको पवित्रता कायम राख्दै, दिगो र वातावरणमैत्री शहरी विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?